
काठमाडौं — चीनले तिब्बततर्फ सगरमाथाको आधारशिविरमा प्रदूषक गाडीहरूमा प्रतिबन्ध लगाउने योजना बनाएको छ । कमजोर वातावरण भएको क्षेत्रमा प्रदूषण घटाउने प्रयासस्वरूप चीनले अर्को वर्षदेखि प्रतिबन्ध लगाउन लागेको हो ।
वातावरणमैत्री नरहेका पर्यटक वाहनहरूलाई आधार शिविर जानबाट प्रतिबन्ध लगाइने भएको छ । तर स्थानीयहरूको आम्दानी बढाउनका लागि विद्युतीय बग्गीहरूलाइ अनुमति दिइने चाइना–तिब्बत अन्लाइनले समाचार दिएको छ ।
गरीबीको रेखामुनि रहेका स्थानीयहरूलाई पथप्रदर्शक तथा विद्युतीय वाहनचालकका रूपमा रोजगारी दिइनेछ ।
‘यसले उक्त क्षेत्रमा प्रदूषण घटाउन मद्दत गर्नेछ र स्थानीयहरूको आम्दानी पनि बढाउनेछ,’ सरकारी पत्रिका ग्लोबल टाइम्सले तिंग्री तिब्बत काउन्टीका उपप्रमुख वाङकिओङलाई उद्धृत गर्दै लेख्यो ।
‘यो क्षेत्रको वातावरण एकदमै कमजोर छ र यहाँको प्राकृतिक अवस्थासँग फोहर र नालीलाई प्रोसेस गर्ने सीमित क्षमता मात्र छ,’ उनले भने । उक्त क्षेत्रको सफाइका लागि एउटा व्यावसायिक सफाइ कम्पनी नियुक्त गरिएको र प्रत्येक
पर्यटकलाई सफाइ प्रवर्द्धन गर्नका लागि फोहरका झोलाहरू दिइने पनि उनले जानकारी दिए ।
सन् २०१७ मा ४० हजार पर्वतारोहीसहित एक लाखभन्दा बढी मानिसले सगरमाथा आधार शिविरको भ्रमण गरेको शिन्ह्वाले जानकारी दियो ।