
सिराहा १६ फागुन - गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधन प्रस्तावका पक्षमा भोट नहाले एमालेको भण्डाफोर गर्नुपर्ने बताएका छन् ।
नेपाल महिला सङ्घको २ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आइतबार लहानमा उद्घाटन गर्दै गृहमन्त्री निधिले एमालेले संशोधनको विपक्षमा भोट हाले भण्डाफोर गर्नुपर्ने बताएका हुन ।
उनले एमालेले मधेस र पहाडका जनताबीच दूरी बढाउने काम गरिरहेको आरोपसमेत लगाए।
'संविधान संशोधनका लागि सरकारले व्यवस्थापिका-संसद्मा संसोधन प्रस्ताव प्रस्तुत गरिसकेको छ', गृहमन्त्री निधिले भने, 'सरकारले नेकपा (एमाले), मधेसवादी दललगायतको सहमतिमै संविधान संशोधन प्रस्ताव पारित गराउने प्रयास गरिरहेको छ, विश्वास छ एमाले पनि संशोधनको पक्षमा आउँछ।'
प्रादेशिक सीमाङ्कन, नागरिकता, भाषा र समानुपातिक, समावेशीलगायत चार विषयमा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएकाले एमालेले भनेजस्तो संबिधान संशोधन राष्ट्रियता विरोधी नभएको जिकिर गर्दै गृहमन्त्री निधिले संशोधनपश्चात मधेसवादी दल पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे।
निधिले संविधान संशोधन र तीन तहकै निर्वाचन गराई संविधान कार्यान्वयन गराउने पहिलो कार्यभार पूरा गर्न सरकार अघि बढिरहेको बताए ।
अद्यावधिक गरिएको*