१० असार २०८३, बुधबार

राष्ट्रपतिज्यूको माहात्म्य (कविता)

कात्तिक ७, २०७५
राष्ट्रपतिज्यूको माहात्म्य (कविता)

अच्युत शाली घिमिरे

म साधारण छु

म त गणतान्त्रिक नेपालको 

सच्चा नागरिक!

कोट र पोशाकको गर्हुँगो शिष्टचारले

मेरो हृदय थिच्दछ,

बलात्कृत निर्मलाका आँसुले 

मेरो परेला भिज्दछ,

बोक्रे मिजास र फोस्रे हासोहरु 

घिन लाग्छन् मलाई,

देशको प्रजातन्त्र र लोकतन्त्रले

सबेरै ठुङ्दछन् मलाई,

तर नाङ्गो महलमा 

रङ्गीन चश्मा लाएर

उपदेश बेच्दै बसेको छ

मूर्ति जस्तै मेरो 

जिउदो सरकार!

अनि त्यही सरकारको साँची 

बसेको छ राष्ट्रपतिज्यूको माहात्म्य।

म निमुखोले भोग्दै आएँ

श्री पाँच सरकार महाराजधिराजका

पालामा छाएका अन्धविश्वासहरु,

आफू सिंहासनमा बसि

सार्वभौम जनतालाई घुडां टेकाएर

दशैंको टिका लगाउने अन्धविश्वास ,

आफू कडा सुरक्षाका बीच

सुनसान सडकमा सवारी गरी

जाममा अड्काएर निरिह जनतालाई

 दुःख दिने अन्धविश्वास,

नपत्याउने खोलाले बगाउछ भने झै

आज ति अन्धविश्वासहरुले 

महामहिमज्यूलाई मोहनि लगाईरहेछ!

बिचरा जनताका नजरमा

भष्मलेपन गर्दै

त्यो फुर्तिलो रवाफीपन

आज महामहिमज्यूको परम्परा बन्दै छ!

वाहा राष्ट्रपतिज्यूको माहात्म्य!

गुणगान योग्य छ।

राष्ट्रपतिज्यूको माहात्म्य

कुनै ऋषिमुनीको माहात्म्य भन्दा फरक छैन!

हामीलाई पाप र धर्म को चेष्टा छैन र किन हो??

हामी निन्दा गरिदिन्छौ

बिरोध र बहस गर्ने प्रवृति देखाउदछौ

उहांको आचारण र आनीबानी संग,

यसरी आफूलाई 

ईश्वरीय शक्तिको उपमा भन्ठान्ने

अनेक रुप र अवतारमा 

परिवर्तित हुदैं

पहिलेका महाराजा जस्तै 

अहिलेका राष्ट्रपति 

महामहिमज्यूको शरण नपर्दा,

डर लाग्छ!

कतै सरकारले

नास्तिक पो ठान्छ कि???

जुनियर इन्टर्न, चिकित्सा शास्त्र अध्ययन संस्थान

salt training

कमेन्ट गर्नुहोस्