काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या षड्यन्त्रमा साउदी युवराज मोहम्मद बिन सलमानको संलग्नता रहेको हुनसक्ने बताएका छन् । युवराजले नै साउदीमा सत्ता सञ्चालन गरिरहेकाले हत्यामा पनि उनको संलग्नता हुनसक्ने ट्रम्पको भनाइ हो ।
द वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा ट्रम्पले आफ्नो अघिल्लो धारणामा परिवर्तन ल्याएका हुन् । उनले यसअघि साउदी राजपरिवारले घटनामा संलग्नता नरहेको भन्ने दाबीलाई जस्ताको त्यस्तै स्वीकारेका थिए ।
तर खशोग्गीको हत्या आरोपमा मुछिएका साउदी अधिकारीहरूमाथि प्रतिबन्ध लगाउने अमेरिकाको परराष्ट्र मन्त्रालयको घोषणाकै दिन राष्ट्रपतिले राजा सलमानलाई शंकाको लाभ दिए तर उनका छोरा युवराज बिन सलमानलाई भने राहत दिएनन् ।
युवराजको सम्भावित संलग्नताका बारेमा सोध्दा ट्रम्पले भने, ‘यतिखेर युवराजले नै शासन चलाइरहेका छन् । उनले शासन सञ्चालन गरेकाले घटनामा कसैको संलग्नता छ भने उनैको छ ।’
ट्रम्पले युवराज मोहम्मदलाई खशोग्गीको हत्याका बारेमा धेरै प्रश्नहरू सोधेको पनि द वाल स्ट्रीट जर्नललाई बताए ।
एक्काईसजना साउदीहरूको अमेरिकी भिसा रद्द गरिने र पछि पनि उनीहरूलाई अमेरिकी प्रवेशाज्ञाका लागि अयोग्य ठहर गरिने परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ । पत्रकार हत्यापछि मच्चिएको हंगामाका कारण अमेरिका र
साउदीबीचको साझेदारीमा प्रश्न उठेको छ ।
द गार्डियनबाट