
काठमाडौं — जापानीहरूलाई संसारकै सबभन्दा मेहनती मानिस मानिन्छ । त्यहाँका मानिस एकदमै कम छुट्टी लिन्छन् र धेरै काम गर्छन् ।
यसले गर्दा त्यहाँका मानिसमा तनाव पनि धेरै छ । कर्मचारीबाहेक जापानी विद्यार्थीहरू पनि धेरै तनावग्रस्त रहन्छन् ।
त्यसैले आफ्ना नागरिकहरूलाई तनावमुक्त राख्नका लागि जापानमा नयाँ तरिका अपनाइएको छ । तनाव भगाउनका लागि त्यहाँ मानिसहरूलाई हाँस्न भन्दा पनि रुन प्रेरित गरिँदैछ । कम्पनीहरू र विद्यालयहरूले कर्मचारी तथा
विद्यार्थीहरूलाई हप्ताको एक दिन खुलेर रुन लगाइरहेका छन् ।
रुँदाको फाइदाका बारेमा बताउनका लागि टीयर्स टीचर अर्थात् आँसु शिक्षक पनि नियुक्त गरिएको छ ।
जपानको एक हाईस्कूल टीचर हीदेफूमी योशिदाले ६ वर्षअघि रुनुका फाइदाका बारेमा शोध र प्रयोग शुरू गरे । उनलाई जापानमा नामिदा सेन्सेई अर्थात् आँसु शिक्षक भनी चिनिन्छ । योशिदाको माग जापानी कम्पनी र स्कूलहरूमा
धेरै छ ।
योशिदाको रोदनमार्फत तनाव भगाउने परीक्षणमा तोहो विश्वविद्यालयको मेडिसिन फ्याकल्टी प्रमुख प्राध्यापक हिदेहो अरिटाले पनि अनुसन्धान गरिसकेका छन् । यी दुवै प्रयोग र अनुसन्धानमार्फत हाँस्दा र सुत्दा भन्दा रुँदा तनाव छिटो
घट्ने देखिएको छ ।
हप्तामा एकचोटि रुँदा तनावरहित जीवन बिताउन सहज हुन्छ । अनुसन्धानको परिणाम हेरेर जापान सरकारले सन् २०१५ मा ५० भन्दा बढी कर्मचारी भएका कम्पनीका लागि तनावमुक्त कदम उठाउनु अनिवार्य गरेको छ ।
एजेन्सी