१० असार २०८३, बुधबार

एउटा सानो टापुका लागि दुई देशबीच विवाद, टिनको घरमा बस्छन् ५०० मानिस

कात्तिक ७, २०७५
एउटा सानो टापुका लागि दुई देशबीच विवाद, टिनको घरमा बस्छन् ५०० मानिस

काठमाडौं — अफ्रिकाको भिक्टोरिया तालमा बनेको सानो मिजिंगो टापु छ । यो टापुमा विगत १० वर्षदेखि युगान्डा र केन्या दुवैले दाबी गरिरहेका छन् ।

यो सानो ठाउँमा ५०० मानिस टिनको घरमा बसेका छन् । उनीहरूले माछा समात्नका लागि सानो पोर्ट र बार पनि बनाएका छन् । 

युगान्डाका २२ वर्षीय इसाक बुहिंजा भन्छन्, ‘मैले माछा समात्ने काम बुवाबाट सिकेको हुँ । म विद्यालय गएकै छैन । मेरा साथीहरू यहाँ बस्ने भएकाले म यहाँ आएँ । यो टापु कुन देशको हिस्सा हो, मलाई थाहा छैन ।’

सन् २००० सम्म पनि टापुमा कोही पनि बस्दैनथियो । त्यतिखेर यो केन्याको अधिकारक्षेत्रमा पर्थ्यो । युगान्डाका अधिकारीहरूको नजर टापुमा परेपछि उनीहरूले माझीसँग कर उठाउन लगाए । कर लिएबापत माझीहरूलाई सुरक्षा दिने उनीहरूले भने । 

पछि युगान्डाका अधिकारीहरूले माछा समात्न रोक लगाएको र पछ्याएको केन्याली माझीहरूको गुनासो छ । माझीहरूले केन्या सरकारसँग मिजिंगोमा सैनिक तैनाथ गर्न अपील गरे । सन् २००९ देखि टापुको विवाद गहिरियो । 

टापुको विवादका कारण केन्या र युगान्डाले संयुक्त आयोग बनाउने फैसला गरे । दुवै देशबीच सन् १९२० देखि अहिलेसम्मको जलसीमाको नक्सा हेरियो तर कुनै फाइदा भएन । अहिले यो टापु केन्या र युगान्डाले संयुक्त रूपमा शासन गर्ने क्षेत्र हो । 

केन्याका प्रहरीले टापुमा सेप्टेम्बरमा झण्डा गाड्ने कोशिश गर्दा युगान्डाले आपत्ति उठाएको र विवाद चर्केको बताए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्