
(काठमाडौं - केही महिनाअघि एक प्रतिष्ठित म्यानपावर व्यवसायीले फेसबुकमा निशा अधिकारीका नाममा आएको ‘फ्रेन्ड रिक्वेस्ट’ स्वीकार गरे । छोटै समयमा ती युवतीले व्यवसायीको फोन नम्बर हात पारिन् र गत असार १ गते कार्यालयमै भेट्न पुगिन् । त्यसपछि घटनाले जुन मोड लियो, व्यवसायी त झस्किए नै, अनुसन्धानमा जुटेको प्रहरीलाई समेत अचम्ममा पारिदियो ।
नाम इन्दु र घर झापाको बुधबारे बताउने ती युवतीले व्यवसायीको कार्यकक्षमा ‘भिडियो अन’ गरेर गोप्य रूपमा मोबाइल राखेकी रहिछन् । क्यामेराले खिचिरहेका बेला ती युवतीले व्यवसायीलाई अँगालो मारिन् र चुम्बन गरिन् । केही दिनपछि आफूलाई गणेश लामा बताउने एक युवकले मोबाइलमा आईएमओमार्फत व्यवसायीलाई उक्त भिडियो पठाए । सँगै धम्की पनि दिए– एक करोड रुपैयाँ नदिए उक्त भिडियो सामाजिक सञ्जाल र युट्युबमा राखिदिने ।
प्रहरी स्रोतका अनुसार भिडियो बनाउने युवती र धम्क्याउने युवक दुवै जना म्यानपावर कम्पनीका एजेन्ट हुन् । उनीहरूले सजिलै मनग्गे कमाउने उद्देश्यले ती व्यवसायीलाई जालमा पारेको खुलेको छ । भिडियो आएपछि आत्तिएका उनी केही लाख रुपैयाँ दिएर समस्या सल्टाउने मनस्थितिमा पुगेका थिए । तर, रकममा कुरा नमिलेपछि महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी लिएर पुगे । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएकाे छ ।