
टोकियो— तीन वर्षदेखि बन्धक बनाइएका एक जापानी पत्रकार मुक्त भएका छन् । उत्तरी सिरियामा लडाकुद्वारा बन्धक बनाइएका जापानी पत्रकार जुम्पेई यासुदा मुक्त भएका हुन् ।
उनलाई अल कायदा सम्बद्ध हायात ताहरिर अल–शाम नामक लडाकु समूहले कब्जामा लिएको थियो । यासुदाले टर्की सीमाबाट एक भिडियो सन्देश पठाउँदै आफू ४० महिनादेखि लडाकुको कब्जामा रहेको र हाल सुरक्षित रहेको बताएका छन् । उनले भिडियो सन्देशमा भनेका छन्, ‘म सिरियामा ४० महिनादेखि बन्धक बनाइएको थिएँ, अहिले टर्कीमा सुरक्षित अवस्थामा छु, धेरै–धेरै धन्यवाद।’
सन् २०१५ को जुनमा सिरियाली गृहयुद्धबारे रिपोर्टिङ गर्न टर्कीबाट गएका यासुदा त्यसपछि बेपत्ता भएका थिए । ४ महिनाअघि जापनी टेलिभिजन च्यानलले उनको भिडियो सन्देश प्रसारित गरेको थियो । जसमा उनले भनेका थिए,‘मेरा परिवार सन्चै होलान्, म तिमीहरूलाई देख्न चाहन्छु ।’
जापान टाइम्सका अनुसार पत्रकार यासुदाको मुक्तिका लागि लडाकु समूहले १ करोड डलर फिरौती माग गरेका थिए । तर जापानी अधिकारीले उक्त रकम दिएको अस्वीकार गरेका छन् । पत्रकार यासुदा सन् २००४ मा पनि लडाकुको कब्जामा परेकामा लामो समयपछि मुक्त भएका थिए ।