
जनकपुरधाम – सामुदायिक विद्यालयले विद्यार्थीलाई कक्षा कोठामा पढाउनुको साटो सडक अवरुद्ध गरेर सडकमै पढाइरहेको सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ ।
तर, जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था गाउँमा त्यहाँको एउटा सामुदायिक विद्यालयबीच सडकमै सडक अवरोध गरेर १ देखि १२ कक्षासम्मको विद्यार्थीको पढाइ गराएका छन् ।
बिहीबार विद्यालयले सडकमै बेन्च–डेस्क राखेर सेतोपाटी राखेर पठनपाठन गराएका छन् । सडकको दुवैतर्फ ढाँट राखेर अवरोध गरिएको थियो भने सडकमै २–२ वटा कक्षाको पठनपाठन भइरहेको थियो । एउटा सेतोपाटी एकातर्फ, अर्को सेतोपाटी अर्कोतर्फ राखेर शिक्षकले सडकमै विद्यार्थीलाई पढाए ।
विद्यालयको भवन विगत ७ महिनादेखि वडाध्यक्षले सडक विस्तारका क्रममा भत्काइदिएपछि कक्षा कोठाको अभाव रहेको, सडक छेउमै विद्यालय रहेकाले सवारीसाधन आवागमन हुँदा धुलो, हल्ला समेत भएकाले पढाइ हुन नसकिरहेकाले सम्बन्धित निकायको ध्यानाकर्षणका लागि विद्यार्थीकै अनुरोधमा सडकमा पठनपाठन गराइएको विद्यालयका प्रधानाध्यापक (प्रअ) विरेन्द्र यादवले बताए ।
‘अब जाडोको मौसम आयो, शीतलहर भयो भने पढाइ कसरी हुन सक्छ ? तत्काल भवन निर्माण गरिदिनुपर्नेमा नगरिँदा विद्यार्थीले सांकेतिक विरोध स्वरूप सडकमा १ दिनका लागि पढाइ गरेको हो,’ प्रअ यादवले लोकान्तरसँग भने । ‘जम्मा १५ वटा कक्षाकोठा नै चाहिन्छ, अन्य शिक्षक, प्रशासन, लेखा, प्रयोगशाला, कम्प्यूटर लगायत २३ वटासम्म कोठाको अत्यन्त आवश्यक रहेको अवस्थामा एउटा कोठा पनि नभएकाले सम्बन्धित निकाय वडाध्यक्ष, जनकपुरका मेयर, उपमेयर लगायतको ध्यानाकर्षणका लागि विरोध गरिएको हो ।’
सडक विस्तारको नाउँमा वडाध्यक्ष रामेश्वर महासेठले सार्वजनिक स्थान तथा सडकमै रहेको वडा कार्यालयको भवन बचाउन राति डोजर लगाएर विद्यालय भत्काएको प्रअ यादवले आरोप लगाए ।
‘विद्यालयको कम्पाउण्ड वाल, ४ कोठे भवन, गेट सबै रातारात डोजर लगाएर उहाँले भत्काउनुभयो,’ प्रअ यादवले भने, ‘फेरि दिनमा विद्यालय चलिरहेको बेला कक्षामा पढाइ भइरहेकै बेला डोजर लगाएर विद्यालय भत्काउनुभयो ।’ वडाध्यक्ष आफैं उपस्थित भएर विद्यालय भत्काइरहेका फोटो र भिडियो समेत प्रअ यादवले देखाए ।

वडाध्यक्ष महासेठले भने आफूले विद्यालय नभत्काएको दाबी गरे । ‘मेरो परिवारले विद्यालयका लागि जग्गादान गरेको अवस्थामा आफूले भत्काउने कुरै आउँदैन,’ वडाध्यक्ष महासेठले भने, ‘प्रअ यादवले आफैं ७० हजार रुपैयाँमा टेन्डर लगाएर विद्यालय भत्काएको हो ।’
विद्यार्थी सडकमा आएको सवालमा विद्यालयका लागि भवन निर्माण गर्न आफू तयार रहेको तर त्यसका लागि प्रअ यादवले आफूलाई कहिल्यै पनि नभनेको महासेठले बताए । ‘मलाई विद्यालयले लेटरप्याडमा लेखेर दिए मेयर, उपमेयरदेखि भारतीय राजदूतावाससम्म पुगेर विद्यालय भवन निर्माणका लागि सहयोग जुटाउन तयार छु ।’ तर, प्रअ यादव पठनपाठनभन्दा पनि विद्यालयलाई राजनीतिको अखडा बनाउन लागेको उनले आरोप लगाए ।
वडाध्यक्षलाई विद्यालय भवन निर्माणका लागि आफूले पटक–पटक भनेको प्रअ यादबले बताए । ‘तपाई विद्यालय खाली गरिदिनुहोस्, अर्को ठाउँ बजारमा विद्यालय निर्माण गराइदिन्छु भनेर महासेठले भन्दै आउनुभएको छ,’ यादवले बताए । विद्यालयको जग्गा हडप्ने दाउ वडाध्यक्षको रहेको उनले आरोप लगाए ।
सडक विस्तारका क्रममा केही स्थानीयको घरजग्गा समेत भत्किएकाले तिनीहरूको सहयोगमा प्रअले विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेको वडाध्यक्ष महासेठले आरोप लगाए । स्थानीय कोही प्रअको पक्षमा त कोही वडाध्यक्षको पक्षमा विभाजित छन् ।