
काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो आईफोनमा गरेको कुराकानी चीन र रुसले सुनेको आरोप अमेरिकी जासूसी संस्थाहरूले लगाएपछि चीन चिढिएको छ ।
चीनले यसमा जवाफ फर्काउँदै ट्रम्पलाई हुआवे फोन प्रयोग गर्ने सल्लाह दिएको छ ।
ट्रम्पले आईफोनमा आफ्ना साथीहरूसँग गरेको कुराकानीलाई चिनियाँ जासूसले सुन्ने गरेको अमेरिकी जासूसहरूको आरोप छ ।
हुआवे चीनको सबभन्दा ठूलो मोबाइल फोन कम्पनी हो । हुआवे प्रयोग गरेपनि ट्रम्पको समस्या नहट्ने भए आधुनिक युगका सबै उपकरणको प्रयोग बन्द गर्नुपर्ने र सबै सम्पर्क तोड्नुपर्ने चीनको भनाइ छ ।
न्युयोर्क टाइम्सले रिपोर्ट प्रकाशित गर्दै ट्रम्पको आईफोन सुरक्षित नरहेको लेखेको थियो । अनि राष्ट्रपति चुनाव प्रचारका बेलामा डेमोक्रेटिक नेसनल कमिटीले आफ्ना उम्मेदवारहरूलाई चेतावनी दिँदै चिनियाँ कम्पनी हुआवे र जेडटीईका फोन प्रयोग नगर्न भनेको थियो ।
उता ह्वाइट हाउसले न्युयोर्क टाइम्सको रिपोर्टलाई खारेज गर्दै ट्रम्पसँग एउटा सरकारी आईफोन रहेको र त्यसलाई सुरक्षित राख्नका लागि सबै मापदण्ड पूरा गर्ने गरेको बताएको छ । ट्रम्पले ट्वीट गरेर अनि ह्वाइट हाउसले राति अबेर
एउटा बयान जारी गरेर न्युयोर्क टाइम्सलाई आफ्नो खबरको प्रामाणिकता पुष्टि गर्न चुनौती दिएको छ ।
एजेन्सी