
काठमाडौं — टर्कीका राष्ट्रपति रेसेप तैयिप अर्दोआनले संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, फ्रान्सेली बुद्धिजीवी, नेदरल्यान्ड्स र जर्मनी लगायतलाई खुलेर आलोचना गर्ने गरेका छन् ।
तर पत्रकार जमाल खशोग्गीको हत्या आफूले गरेको कबोलिसकेको साउदी अरबका लागि अर्दोआनले छक्क पार्ने बयान दिए । उनले भने, ‘मसँग राजा सलमानको इमान्दारीमाथि शंका गर्ने कुनै कारण छैन ।’
अर्दोआनका प्रवक्ताले साउदीलाई मित्र देश भनिसकेका छन् ।
तर सरकार समर्थक टर्कीश मिडियाले रियादलाई कस्ने गरी लगातार रिपोर्ट लेखिरहेका छन् ।
साउदी युवराज मोहम्मद बिन सलमानलाई यो हत्याको जानकारी थियो र हत्या उनकै इशारामा भएको भनी आशंका पनि प्रकट भएका छन् ।
महत्त्वपूर्ण प्रश्न छ : साउदीका सम्बन्धमा अर्दोआन कुन खेल खेल्दैछन् ?
अर्दोआनको भाषाशैलीले खशोग्गी काण्ड साउदी विरुद्ध टर्कीको लडाईं नभएको देखाउने कोशिश गर्छ । दुवै देशको पारस्परिक सम्बन्ध महत्त्वपूर्ण छ । तर खशोग्गी काण्डमा टर्कीले हस्तक्षेप गरिदिँदा दुवैको सम्बन्धमा तनाव भने आएको छ ।
यस्तोमा अर्दोआन राजा सलमानलाई सीधै निशाना नबनाइकनै अनुसन्धानको कुरा झिक्दैछन् ।
राष्ट्रपतिका एक निकटवर्ती सूत्रले भने, ‘अर्दोआनले युवराज बिन सलमानलाई पदबाट हटाउने कुरा गरेको भए त्यसो हुन अझै गाह्रो हुन्थ्यो ।’ अर्दोआनले आफ्नो सम्बोधनमा एकचोटि पनि युवराज सलमानको उल्लेख गरेनन् । यो
सोचेर चालिएको कदम थियो ।
खासमा अंकारा राजा र युवराजबीच फाटो ल्याउने कोशिश गर्दैछ तर त्यसको बाटो रियाद नभई वाशिङटनबाट सम्भव छ ।
बयासी वर्षीय साउदी राजाले आफ्ना छोरा युवराज बिन सलमानलाई हटाउने कुनै संकेत दिएका छैनन् । विगत केही दिनयता उनले खशोग्गी हत्या मामिलामा साउदीको जासूसी सेवा पुनर्गठन गर्ने आदेश दिए र त्यसको जिम्मेवारी
सलमानलाई नै दिए ।
अर्दोआन सरकारले साउदी अरबलाई इस्लामको संरक्षकका रूपमा लिन्छ । तर अर्दोआनले संसारमा प्रभावशाली मुसलमान नेताका रूपमा पेश गर्न चाहन्छन् र यसमा युवराज सलमान उनका सबभन्दा ठूला प्रतिद्वन्द्वी हुन् ।
मध्यपूर्वमा टर्कीका निकटवर्ती देशको घेराबन्दीमा सलमानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अर्दोआनको पार्टीसँग जोडिएका मुस्लिम ब्रदरहूड विचारधारा भएका मानिसमाथि नियन्त्रण कस्न पनि युवराजको भूमिका रह्यो ।
सलमानले इजरायलसँग थप राम्रो सम्बन्ध बनाउने कोशिश गरेको पनि अर्दोआनलाई चित्त बुझाएका छैनन् । इजरायललाई टर्की पटक्कै मन पराउँदैन । टर्कीको इरानसँग मैत्री सम्बन्ध छ । यसले पनि सलमानसँग अर्दोआनको
सम्बन्ध बिग्रिएको छ । यस्ता कारणहरूले गर्दा रियाद र अंकाराको क्षेत्रीय राजनीतिमा एकअर्काको आमनेसामने राखेको छ ।
खशोग्गी मामिलामा साउदी अरब ब्याकफूटमा छ । टर्कीको मिडियाले टर्कीको दुश्मन भनी चित्रित गर्ने युवराज सलमानलाई अपमान गर्ने कुनै पनि मौका टर्कीले छोड्नेछैन ।
संयुक्त अरब अमिरात र इजिप्ट दुवै रियादका निकटवर्ती हुन् र टर्की सरकारलाई सन् २०१६ मा कूमार्फत लडाउने कोशिशमा यूएईको भूमिका रहेको शंका टर्कीले गर्छ । अनि मुस्लिम ब्रदरहूडलाई सत्ताच्युत गरेर शासनमा आएका
इजिप्टका सैनिक तानाशाह अब्दुल फत्तेह अल–सिसीलाई कहिल्यै माफ गर्ने छैनन् ।
तर अर्दोआनका यी नीतिहरूमा जोखिम पनि छ किनकि आगामी दिनमा युवराज सलमानको हातमा साउदी सत्ता आएमा टर्कीसँग द्वेष राख्ने सरकार बन्नेछ ।
युवराज सलमान ह्वाइट हाउसको निकटवर्ती रहेको मानिन्छ । ट्रम्पका ज्वाईं र वरिष्ठ सल्लाहकार ज्यारेड कुशनरसँग सलमानको मित्रता गहिरो छ ।
अचम्मको स्थिति उत्पन्न भएको छ । एउटा नृशंस हत्या, सत्य लुकाउने कोशिश, क्षेत्रीय सम्बन्धमा उतारचढाव र संसारको सबभन्दा ठूलो तेल निर्यातक मुलुकमाथि मृत्युकाृ दाग लागेको स्थिति छ ।
साउदीले इस्तानबुलमा गरिएको कारवाही सजिलै लुक्ला भनी सोचेको थियो तर यो उसको गलत अनुमान निस्कियो ।
बीबीसी हिन्दीबाट