०९ साउन २०८३, शनिबार

शनिवार नेकपाको चियापान, विपक्षी कांग्रेसका नेतासहित ५० हजारलाई निम्तो

कात्तिक ९, २०७५
शनिवार नेकपाको चियापान, विपक्षी कांग्रेसका नेतासहित ५० हजारलाई निम्तो

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा शनिबार आयोजना गर्ने चियापान कार्यक्रममा सार्वजनिक निम्ता गरेको छ । 

पार्टीका महासचिव विष्णु पौडेलले आज जारी गरेकाे विज्ञप्तिमा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने हुँदा चियापानमा सहभागी हुन सबैलाई आग्रह गरिएको छ । 

विज्ञप्तिमा नयाँ संविधान लागू भएर तीनै तहको निर्वाचन सम्पन्न भएपछि मुलुक सम्मृद्धिको महाअभियानतर्फ राष्ट्रिय अठोटमा हिँडिरहेको अवस्थामा सबै पक्षको सहयोगको अपेक्षा गरिएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधताले भरिपूर्ण राष्ट्र भएको जनाउँदै विज्ञप्तिमा विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता तथा समझदारी र सहकार्यलाई जोड दिइएको छ । 

पार्टीले विगतदेखि नै नेपालीले मनाउँदै आएका चाडबाड र सांस्कृतिक पर्वका अवसरमा ऐतिहासिक परम्परा तथा संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नु र समयानुकूल रूपान्तरण गर्दै जानु आजका दिनमा राज्य र पार्टीका दायित्व भएको भनिएकोे छ । 

काठमाडौँको भृकुटीमण्डपमा अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’का नामबाट निमन्त्रणा गरिएको छ । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागेको चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता गरेको छ भने करीब ३५ हजार सहभागी हुने अनुमान गरिएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयंसेवक परिचालन गरिने छ । 

salt training

कमेन्ट गर्नुहोस्