
सुर्खेत– प्रतिपक्षी दलको अवरोधका कारण बस्न नसकेको कर्णाली प्रदेश सभाको बैठक आइतबार बस्दैछ । नेपाली कांग्रेसका सांसदले सरकारले हालसम्म पनि बजेटको रातो किताव उपलब्ध नगराएको, अत्यावश्यक विधेयकहरु संसदमा पेश नगरेको र संसदलाई बिजेनश नदिएर बन्धक बनाएको भन्दै बैठक अवरोध गरेको थिायो ।
असोज २३ गते र २६ गते बस्न नसकेको संसद बैठक आइतबार दिउसो १ बजे बस्ने सहमति जुटेको छ । सभामुख राजबहादुर शाहीको पहलमा शनिबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बैठक सञ्चालन गर्ने सहमति भएको बताइएको छ ।
सभामुख शाहीका अनुसार सरकार र प्रतिपक्षबीच भएको छलफल र वार्तामा आइतबार संसदलाई रातो किताब उपलब्ध गराईने र संसद, मन्त्रीको सेवा सुविधाका विषयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा धारणा राख्ने सहमति पछि प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस संसदको अवरोध हटाउन तयार भएको हो ।
आइतबार बस्ने प्रदेश सभाको बैठकमा गाउँ तथा नगर सभा संचालन सम्वन्धी विधेयक पारित गर्ने कार्यसूची रहेको छ । केही दिन बैठक संचालन गरेर संसदको दोस्रो अधिवेशन अन्त्य गर्ने तयारी छ ।