काठमाडौं, १७ फागुन-सरकारले स्थानीय निर्वाचन घोषणा गरेपछि नेपाली सेनाले गृहमन्त्रालय मातहतका निकायसँग सुरक्षा रणनीतिबारे छलफल गरेको छ ।
सोमबार साँझ गृह मन्त्रालयका अधिकारीसहित अन्य सुरक्षा निकाय प्रमुखहरु सैनिक मुख्यालय पुगेर सो विषयमा छलफल गरेका थिए ।
गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीसहित नेपाल प्रहरीका निमित्त प्रमुख डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी मुख्यालय पुगेका हुन् ।
नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले निर्वाचनमा कसरी सुरक्षा प्रवन्ध गर्ने भन्ने विषयमा छलफलका लागि गृहअन्तर्गतका सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरिएको बताए ।
चुनावी सुरक्षाको जिम्मेवारी गृहले गर्छ । सेना गृह मातहतको निकाय नभए पनि यस्ता विषयमा सेनाले गृहका अधिकारीलाई सैनिक मुख्यालयमा बोलाएर प्रारम्भिक छलफल गरेको खबर राजधानीले छापेको छ ।