०७ असार २०८३, आइतबार

सहमतिमा आउन मोर्चालाई आग्रह, सङ्घीयता नै उल्टिन सक्नेमा प्रधानमन्त्रीको चिन्ता

कात्तिक २०, २०७४
सहमतिमा आउन मोर्चालाई आग्रह, सङ्घीयता नै उल्टिन सक्नेमा प्रधानमन्त्रीको चिन्ता
काठमाडौँ, १७ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान संशोधन प्रक्रिया, स्थानीय तहको निर्वाचन र सहमतिका आधारका विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ भएको छलफलमा प्रधानमन्त्रीले हाल सहमति हुन सक्ने विषयमा सहमति गरेर स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढाउन र सहमति हुन नसकेका विषयमा बिस्तारै सहमति जुटाउँदै जाने भएकाले त्यसमा सहयोग गर्न आग्रह गरेका थिए।

स्थानीय तह पुनःसंरचनाको अन्तिम टुङ्गो, संविधान संशोधन प्रस्ताव र त्यसमा मधेसी मोर्चाको भूमिका तथा स्थानीय तहको निर्वाचनका विषयमा नै केन्द्रित भएर मोर्चाका नेतासँग प्रधानमन्त्रीले आफ्नो धारणा राखेको र मुलुकलाई अगाडि बढाउने विषयमा सहमति गर्न आग्रहसमेत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनमा नजाने हो भने सङ्घीयता नै उल्टिन सक्ने खतराप्रति मोर्चाका नेताको ध्यानाकर्षण गराएका थिए। संविधान संशोधन प्रस्तावलाई अन्तिम टुङ्गोमा लैजान मोर्चाका नेताको सुझाव माग्दै प्रधानमन्त्रीले सरकार संशोधन प्रस्तावप्रति गम्भीर र प्रतिबद्ध रहेको स्पष्ट गरे।

भेटमा मोर्चाका नेताले संविधान संशोधन प्रक्रिया र स्थानीय तहको प्रतिवेदनबारे आफ्नो चासो राखेका थिए। मोर्चाका तर्फबाट भने पहिले संशोधनको प्रक्रिया अगाडि बढेका खण्डमा आफूहरु निर्वाचनका लागि तयार रहेको धारणा राखिएको सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।

बैठकमा मोर्चाले प्रदेश मातहत स्थानीय निकायलाई राख्नुपर्ने, नयाँ प्रदेश बनाउन परे सहज प्रावधान राख्नुपर्ने तथा स्थानीय निकायमा राख्नुपर्ने विशेष तथा स्वायत्त क्षेत्रको शीघ्र निर्धारण गर्नुपर्ने धारणा राखेको बताइएको छ।

छलफलमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र फोरमका सहअध्यक्ष श्रेष्ठ सहभागी थिए। सोही छलफलका आधारमा मङ्गलबार नेकपा(माओवादी केन्द्र), नेपाली काँग्रेस र मधेसी मोर्चाबीच संयुक्त बैठक बस्ने समझदारी भएको छ। रासस

कमेन्ट गर्नुहोस्