धनकुटा– धनकुटाको चौबिसे गाउँपालिकाका किसानले टनेल घरभित्र तरकारी खेती गर्न थालेका छन् । पछिल्लो समय सो क्षेत्रमा टनेल घरभित्र खेती गर्ने किसानको संख्या समेत बढिरहेको छ ।
राजारानी, मौनावुधुक, वसन्तटार, वोधे, मुढेवास लगायतका स्थानमा मात्रै दुई दर्जनभन्दा बढी किसानले टनेल घर बनाएर गोलभेंडा खेती गरेका छन् । विशेष गरी सिँचाई सुविधा नभएको ठाउँमा टनेलभित्र तरकारी खेती सजिलैसँग गर्न सकिने र यस प्रविधिबाट खेती गर्दा बढी मेहनत नपर्ने, रोग तथा कीराको प्रकोप पनि कम र उत्पादन लागत घट्ने किसानहरुले बताएका छन ।
टनेल घरभित्र खेती गर्न किसानलाई गाउँपालिकाले समेत सहयोग गर्ने गरेको छ । त्यस्ता किसानलाई अनुदानमा प्लाष्टिक वितरण, खेतीको विधिवारे तालिम र वेला बखत प्राविधिक ज्ञान समेत उपलब्ध गराइरहेको चौविसे गाउँपालिका कृषि शाखाले जनाएको छ ।