
काठमाडौं — टर्कीको इस्तानबुलमा एक भव्य विमानस्थल परियोजनाको उद्घाटन गरिएको छ । पूरै तयार भएपछि यो विमानस्थल संसारकै सबभन्दा ठूलोमध्येको एक विमानस्थल हुनेछ ।
सोमवार विमानस्थल निर्माणको पहिलो चरणको उद्घाटन गरिएको हो । आगामी दश वर्षभित्र अर्थात् सन् २०२८ सम्ममा यो विमानस्थल पूरै बनिसक्ने अनुमान छ । सन् २०१८ को अन्त्यसम्म यहाँबाट ३५० गन्तव्यका लागि दुई हजारभन्दा बढी विमान उड्नेछन् ।
पहिलो चरणमा लगभग नौ करोड मानिस यहाँबाट हरेक वर्ष यात्रा गर्नेछन् । परियोजना पूरा भएपछि लगभग २० करोड मानिस संसारका विभिन्न स्थानका लागि यहाँबाट उड्नेछन् ।
यात्रीसंख्याको आधारमा संसारको सबभन्दा व्यस्त विमानस्थल अमेरिकाको एटलान्टा विमानस्थल हो । त्यहाँबाट हरेक वर्ष १०.४ करोड मानिस उड्ने गरेका छन् ।
एटलान्टापछि बेइजिङ विमानस्थलबाट ९.७५ करोड यात्री, दुबईबाट ८.८२ करोड यात्री, टोक्यो विमानस्थलबाट ८.५४ करोड यात्री र लस एन्जेलस विमानस्थलबाट ८.४५ करोड यात्री उड्ने गरेका छन् ।
टर्कीको विमानीथल ७.६५ करोड वर्ग मिटर क्षेत्रमा बन्नेछ । यहाँ ७० हजार कारलाई पार्किङ गर्ने ठाउँ हुने दाबी गरिएको छ ।
पहिलो चरणको परियोजनामा ७ अर्ब डलर खर्च भइसकेको छ । सोमवारदेखि दुईवटा धावनमार्ग सञ्चालन हुन थालिसकेका छन् ।
संसारको सबभन्दा ठूलो र व्यस्त विमानस्थलका रूपमा विकसित गरिने यो सबभन्दा सुन्दर विमानस्थल पनि हुनेछ ।







एजेन्सी