
काठमाडौं — श्रीलंकामा राजनीतिक संघर्ष झनै चर्किएर गएको छ । सोमवार प्रहरीले बर्खास्तगीमा परेका पेट्रोलियम मन्त्री अर्जुना रणतुंगालाई पक्राउ गरेको छ ।
सुरक्षाबलले चलाएको गोली लागेर एक कार्यकर्ताको मृत्यु भएपछि उनीमाथि कारवाही गरिएको हो ।
कोलम्बोमा रणतुंगालाई अपहरणको कोशिश पनि गरिएको थियो । त्यसक्रममा गोली चल्दा एकजनाको मृत्यु भयो भने तीनजना घाइते भए ।
प्रहरी प्रवक्ता रुवान गुणसेकराका अनुसार, कोलोम्बो अपराध महाशाखाले रणतुंगालाई गोलीकाण्डको घटनाका लागि पक्राउ गरिएको हो र छिट्टै अदालतमा पेश गरिनेछ ।
शनिवार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले मन्त्रिपरिषद् भंग गरेको घोषणाको एक दिनअगावै नयाँ प्रधानमन्त्रीका रूपमा पूर्वराष्ट्रपति महिन्दा राजपक्षेलाई नियुक्त गरेका थिए ।
त्यसपछि राजपक्षेसँग जोडिएका ट्रेड युनियनका सदस्यहरूले पुरानो मन्त्रिमण्डलका मन्त्रीलाई कार्यालय प्रवेश गर्नै दिएका छैनन् ।
राष्ट्रपतिले बहालवाला प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई बर्खास्त गरेका हुन् । यसलाई संवैधानिक कूको संज्ञा दिइएको छ । देशमा राजनीतिक संघर्ष चलिरहँदा सिरिसेनाले नोभेम्बर १६ सम्मका लागि संसद् निलम्बित गरेका छन् किनकि
विक्रमसिंघेले बहुमत सिद्ध गर्नका लागि इमर्जेन्सी सेसन बोलाउनुपर्ने माग राखेका थिए ।
श्रीलंकाली संसदमा राजपक्षे र सिरिसेनाका दल मिलेर ९५ सीट ल्याएका छन् भने विक्रमसिंघेको दलसँग १०६ सीट छ । बहुमतका लागि ११३ सीट आवश्यक हुन्छ ।
एजेन्सी