११ असार २०८३, बिहीबार

कांग्रेस र नेकपा विवादले गोली चल्दा १ जनाको मृत्यु, ७ जना घाइते

कात्तिक १३, २०७५
कांग्रेस र नेकपा विवादले गोली चल्दा १ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं – सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ४ मा स्थानीय नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच विवाद बढेर गोली चल्दा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

महिना दिनदेखि चलिरहेको विवादले उग्ररुप लिएपछि मंगलवार गोली प्रहार भएको हो । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोका अनुसार नेकपाका कार्यकर्ता शुभनारायण यादव लगायतको समूहले गोली प्रहार गर्दा उनका काका रामविलाश महतोको मृत्यु भएको छ ।

सोमवार नेकपाका कार्यकर्ताले वडा कार्यालय जाँदै गर्दा आफूमाथि आक्रमण गरेको कुटपिट गरेको वडाध्यक्ष महतोले बताए । ‘म अहिले अस्पतालमै उपचार गराइरहेको छु, मेरो खुट्टा भाँचिएको छ, टाउकोमा १० टाका लागेको छ,’ टेलिफोनमा महतोले भने, ‘आज –मंगलवार) मेरो काकालाई गोली हानेर मारे ।’

मंगलवार बिहानैदेखि विवादले उग्ररुप लिएर गोली प्रहार हुँदा ७ जना घाइते भएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहका अनुसार स्थानीय श्रीनारायण महतो, महादेव राय, भोजेन्द्र महतो, प्रेमनारायण महतो, विवेक महतो, प्रमोद सहनी र मुकेशकुमार कुशवाह घाइते भएका छन् ।

गोली प्रहारपछि स्थानीय वासिन्दा आक्रोशित भएका छन् । झनै क्षति हुन सक्ने र विवाद बढ्न सक्ने भएकाले प्रहरीले शान्तिसुरक्षा बढाएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक कुन्दन देवले बताए । ‘अहिले घटनास्थल साम्य भइसकेको छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्