
फिल्म सुटिङका क्रममा गरिने अभिनय, द्वन्दव, नाच गान आदीका क्रममा कलाकारहरु घाइते हुने गरेका समाचारहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।
बेलाबेलामा सेट नै भत्किएर पनि कलाकार घाइते हुने गरेका छन् । चलेका अभिनेता अभिनेत्रीहरु नै घाइते हुने गरेका समाचारहरु सार्वजनिक भएको छ ।
अमिताभ बच्चन, शाहरुख देखि सलमानसम्म सुटिङका क्रममा घाइते भएका थिए ।
अमिताभ बच्चन
सन् १९८३ मा रिलिज भएको फिल्म ‘कुली’को एक फाइट सिन अमिताभका लागि महँगो साबित भइदियो । फिल्मको एक सिनमा कलाकार पुनित इसरसँग फाइट गर्नुपर्ने थियो । संयोगवश पुनितको एक पन्च अमिताभको पेटमा लागिदियो । त्यो समयदेखि आजसम्म पनि अमिताभ उक्त पन्चका कारण पीडित हुने गरेका छन् ।
शाहरुख खान
सुटिङका क्रममा घाइते हुने कलाकारको सूचीमा किङ खान अर्थात् शाहरुख खानको नाम समावेश छ । सन् २०१० मा सार्वजनिक भएको फिल्म ‘दुल्हा मिल गया’मा उनी अतिथि कलाकारको भूमिकामा देखिएका थिए । उक्त फिल्म सुटिङका क्रममा एक सिनका दौरान उनको काँधमा गहिरो चोट लागेको थियो । उक्त चोटका कारण आजसम्म पनि उनको दुखाइ बल्झिने गर्छ ।
रणवीर सिंह
अभिनेता रणवीर सिंहलाई बलिउडमा नयाँ सुपरस्टार मानिन्छ । आठ वर्षको फिल्मी करिअरमा उनले त्यो स्टारडम कमाए, जुन कमाउन तीन खानलाई बीसौँ वर्ष लागेको थियो । रणवीर फाइटको नभई डान्सको सुटिङमा चिप्लिएर घाइते भएका थिए । फिल्म ‘गुन्डे’को सुटिङताका उनको अनुहारमा निकै ठूलो चोट लागेको थियो ।
सलमान खान
घाइते हुने शृंखलामा ‘दबंग खान’ अर्थात् सलमान खानको नाम पनि जोडिन्छ । फिल्म ‘वान्टेड’को एक स्टन्ट सिनका दौरान उनी घाइते भएका थिए । उनी ठीक भएपछि मात्र फिल्मको सुटिङ भएको थियो । फिल्म सन् २००९ मा रिलिज भएको थियो । जुन फिल्म सुपरहिट भएको थियो ।