१० असार २०८३, बुधबार

क्रसर र टिपरमा प्रहरीकै अवैध लगानी, भाइटीकाको साइत बिहान ११ः५५ मा

कात्तिक १५, २०७५
क्रसर र टिपरमा प्रहरीकै अवैध लगानी, भाइटीकाको साइत बिहान ११ः५५ मा

काठमाडौं– काभ्रेको मण्डनदेउपुर नगरपालिका ६ भांगेटारमा भएको सवारी दुर्घटनामा नोपल प्रहरीका बाहालवाला नायव महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्युपछि नयाँ विषयको रहस्योद्घा भयो, उनको अवैध लगानी । एक महिनाको बिदा स्वीकृत गराएर विदेश जाने तयारीमा रहेका उनी अघिल्लो दिन आफ्ना व्यवसायीक साझेदारसँग नयाँ व्यवसायमा लगानी गर्न काभ्रेको मण्डनदेउपुर पुगेका थिए । तर त्यहीँ उनको जीवनको अन्त्य भयो । 

काभ्रे प्रहरीलाई सुइँको समेत नदिई पुगेका उनी दुर्घटनामा पर्दासमेत प्रहरीलाई डीआईजी हुन् भन्ने जानकारी भएन । डीआईजी भण्डारीसहित ३ जनाको ज्यान जाने गरी भएको दुर्घटना शंकास्पद भएकोभन्दै प्रहरीले अनुसन्धान थालेको छ । काभ्रेका विभिन्न क्रसर उद्योगमा उनको लगानी पाइएको छ । 

स्रोतका अनुसार डीआईजी भण्डारीले आफन्तका नाममा बेथानचोक गाउँपालिकामा रहेको चलाल गणेश रोडाढुंगाा उद्योगमा अप्रत्यक्ष लगानी गरेका थिए । त्यस क्षेत्रमा बालुवा खानी सञ्चालन गर्दै आएका एक व्यक्तिले दिर्वगत भण्डारीले डेढ दर्जन टिपर सञ्चालन गरेको बताए । स्थानीय र प्रहरीले अवरोध गर्दा उनी आफैंले फोन गरी दबाब दिने गरेका थिए । 

काभ्रेमा खटिएका अन्य प्रहरी अधिकृतबो पनि खानी ताथ क्रसरमा लगानी भेटिएको छ । काभ्रे ट्राफिक प्रहरी प्रमुख रहेर काम गरेका तत्कालीन इन्सपेक्टर सुकदेव खनाल (हाल डीएसपी) ले पनि श्रीमतीका नाममा क्रसर उद्योगमा लगानी गरेको भेटिएको हो ।  जिल्लामा रहेका क्रसर गैरकानुनी रुपमा सञ्चालन भइरहेको छ । बीपी राजमार्ग र अरनिको राजमार्ग हुँदै दैनिक टिपर सञ्चालन गर्नुपर्ने भएकाले व्यवसायीले प्रहरीसँग साँठगाँठ आएका छन् ।, कान्तिपुरमा खबर छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उनको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीको रक्तचाप र मधुमेह पनि सन्तुलनमा रहेको हुँदा सामान्य हिँडडुल गरेका र सामान्य खाना थालेका छन् ।     प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा सङ्क्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

उपचारका क्रममा नसाबाट दिइएका विभिन्न औषधि बिहीबारदेखि बन्द गरिने र मुखबाट खुवाइनेछ । प्रधानमन्त्रीको उपचारमा डा सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित छन् ।

भाइटीकाको साइत सार्वजनिक
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको बुधबार बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । 

यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु हुँदैछ । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ । 

गौचन हत्यामा संलग्न जेल चलान 
महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनै जनालाई जेल चलान गरेको छ । विसं २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली हानी हत्या गरेको आरोपमा महाशाखाको टोलीले यही कात्तिक १२ गते पक्राउ गरेका झापाका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौँका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर रानालाई डिल्लीबजार कारागार चलान गरेको हो । 

महाशाखाका प्रमुख धीरजप्रताप सिंहले पक्राउ परेका तीनै जनालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशअनुसार कारागार चलान गरिएको जानकारी दिए । सोमबार महाशाखाको टोलीले झापाको सीमावर्ती क्षेत्रबाट राना, लोप्साङ र बुढाथोकीलाई पक्राउ गरेको थियो ।

जेल नबसी पुनरावेदन गर्न पाउने आदेश
सर्वोच्च अदातलले पर्यटन बोर्डका तत्कालीन निमित्त कार्यकारी अधिकृत सुवास निरौलाविरुद्धको भ्रष्टाचार मुद्दामा जेल नबसीकन पुनरावेदन गर्न पाउने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले बुधबार जेलमा नबसीकन पनि मुद्दामा पुनरावेदन गर्न पाउने आदेश दिएको हो ।

आदेशमा गत भदौ १ देखि लागू भएको मुलुकी फौजदारी कायविधि (संहिता) ऐन २०७४ मा दिएको सुविधाअनुसार निवेदकलाई धरौटी वा जमानत लिइ पुनरावेदन गर्ने अनुमति दिनु कानूनसम्मत र न्यायोचित देखिने उल्लेख छ । मुलुकी फौजदारी (संहिता) ऐनमा अदालतबाट पुर्पक्षका लागि थुनामा राख्न नपर्ने आदेश भई थुनामा नबसेको अवस्थामा १० वर्षसम्म कैद सजाय भएको कसूरदारले थुनामा नबसी पुनरावेदन दिने अनुमतिका लागि कारण खुलाई निवेदन गरेमा र त्यस्तो कारण मनासिव देखिएमा पुनरावेदन सुन्ने अदालतले निजसँग धरौटी वा जमानत लिइ पुनरावेदन गर्ने अनुमति दिन सक्ने व्यवस्था गरेको छ ।

महाप्रबन्धकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
सर्वाेच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट वसन्तप्रकाश उपाध्यायलाई हटाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले बुधबार उपाध्यायलाई पदबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । 

मन्त्रिपरिषद्को गत आइतबारको बैठकले उपाध्यायलाई पदबाट हटाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयविरुद्ध उपाध्यायले सर्वोच्च अदालतमा रिट निवेदन दायर दिएका थिए । सरकारले यसअघि पनि उपाध्यायलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध पनि उपाध्यायले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

सो निवेदनको सुनुवाइ गर्दै अदालतले गत असार २९ गते सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उपाध्याय संस्थानको महाप्रबन्धकको जिम्मेवारी लिएर फर्केका थिए । 

खरीद ऐनअनुसार काम गर्न निर्देशन 
कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले सरकारलाई सार्वजनिक खरीद ऐनअनुसार नै विकास निर्माणका काम अघि बढाउन निर्देशन दिएको छ । कर्णाली प्रदेश सरकारका मन्त्री र सचिवहरुलाई बोलाएर समितिले सार्वजनिक खरीद ऐनअनुसार नै विकास निर्माणका कामहरु अघि बढाउन निर्देशन दिएको हो । कर्णाली प्रदेशमा गत आर्थिक वर्षको बजेट खर्चको विवरण तथा चालू आर्थिक वर्षको असोज मसान्तसम्मको बजेट खर्च विवरण माग्दै सार्वजनिक लेखा समितिले प्रदेश सरकारसँग छलफल गरेको हो ।

हप्तामा तीन दिन उडान 
दाङको टरिगाउँ विमानस्थलमा अबदेखि हप्तामा तीन दिन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सको डाँफे विमानले हप्तामा दुई दिन मात्रै दाङ–काठमाडौँ उडान भर्दै आएकामा अब हप्तामा तीन दिन उडान भर्ने भएको छ । यसअघि सोमबार र शुक्रबार मात्रै उडान भर्दै आएको भए पनि अबदेखि बुधबार पनि जहाजले उडान भर्नेछ ।

आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मा कार्यरत सहायक मायादेवी भट्टराईविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । केयुकेएलअन्तर्गतको नयाँ बनेश्वर शाखामा कार्यरत भट्टराईले पेश गरेको विहार संस्कृत शिक्षा बोर्ड पटना, भारतबाट प्राप्त गरेको एसएलसी तहको प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली देखिएको आयोगले जनाएको छ । 

अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना 
अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा हेलिकप्टर दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । अफगान सेनाको हेलिकप्टर दुर्घटना हुदाँ सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । 
इरानसँगको सीमा जोडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिए । हेलिकप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ व्यक्ति सवार रहेको पनि मेहरीले बताए ।

पिपिएलमा विराटनगर र चितवनको पहिलो जीत
पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएका दुई खेलमा विराटनगर टाइटन्स र चितवन राइनोज विजयी हुँदै प्रतियोगितामा पहिलो जीत दर्ता गराएका छन् । कात्तिक ९ गतेदेखि जारी प्रतियोगितामा चार खेल खेलिसकेको विराटनगर शीर्षस्थानको बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गर्दै पहिलो जीत दर्ता गराउन सफल भएको छ । 

यसअघिका दुई खेल गुमाएको चितवन राइनोजले पनि एक्सपर्ट धनगढी ब्लुजलाई १२६ रनको विशाल अन्तरले हराएर अङ्कतालिकामा दुई अङ्क जोड्न सफल भयो । टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा सात विकेट गुमाउँदै १४० रन बनायो । जीतका लागि १४१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बुटवलले पूरै ओभर खेल्दै १२८ रनमात्र जोड्यो ।  

पहिलो खेलमा चितवन राइनोजले निर्धारित २० ओभरमा पाँच विकेटको गुमाउँदै १९३ रन जोडेको थियो । १९४ रनको विजयी लक्ष्यसहित प्रतिउत्तरमा उत्रिएको धनगढीले १६ ओभरको दोस्रो बलमा अलआउट हुँदै मात्र ६७ रनमा समेटियो ।

salt training

कमेन्ट गर्नुहोस्