३१ असार २०८३, बुधबार

सेनाको कलेजमा निजामतीलाई माथिल्लोस्तरको तालिम

कात्तिक २०, २०७४
सेनाको कलेजमा निजामतीलाई माथिल्लोस्तरको तालिम
टोखा (शिवपुरी), १७ फागुन - नेपाली सेनाले केही मन्त्रालय तथा मातहतका निकायमा नीतिनिर्माण तहमा काम गर्ने माथिल्लो तहका राष्ट्रसेवकका लागि राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम सञ्चालन गरेको छ ।

शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सुरु भएको दशदिने उक्त तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रथम श्रेणीका अधिकृत तथा विद्युत् विकास विभाग, राष्ट्रिय योजना आयोगमा कार्यरत निजामती सेवाका केही उपसचिवसहित १८ जनाको सहभागिता छ ।

राष्ट्र, राष्ट्रियता, स्वाधीनता र अखण्डताको विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त तालिममा मुलुकको शान्ति सुरक्षा, पर्यावरण संरक्षण, विकास निर्माण, प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनमा कसरी समन्वय गरेर साझा अवधारणा बनाएर काम गर्न सकिन्छ भन्ने बारेमा विस्तृत छलफल हुनेछ ।

तालिमको उद्घाटन गर्दै प्रधानसेनापति क्षत्रीले विश्वमा देखिएको नयाँखाले अपराधका घटनाले मुुलुकको आर्थिक, सामाजिक सहिष्णुताका साथै राष्ट्रिय सुरक्षा चुनौती खडा गरेको बताउनुभयो । रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले आधुनिक विश्वमा सुरक्षा चुनौतीका स्वरुप पनि फेरिएकाले एउटा देशमा देखिएको सुरक्षा सबैका लागि चासो र चिन्ताको विषय हुने गरेको बताउनुभयो ।

कलेजका निर्देशक उपरथी देवेन्द्र मेघासीले राष्ट्रिय सुरक्षालगायत मुलुकको चासोसँग जोडिएका विषयमा सरोकार भएका निकायबीच साझा अवधारणा बनाएर एकीकृत रुपमा काम गर्न सजिलो होस् भन्ने हेतुले तालिमको आयोजना गरिएको बताउनुभयो ।

सेनाको माथिल्लो तहमा बढुवाका लागि निर्धारण गरिएको स्नातकोत्तर तहको ४५ साताको पाठ्यक्रम सञ्चालन गर्दै आएको उक्त कलेजबाट एक शैक्षिक सत्रमा ४० जनाले उपाधि प्राप्त गर्दै आएका छन् । विदेशी सेनाका अधिकृत क्याडेटका लागि उक्त कलेज आकर्षणको केन्द्र बन्दै गएको छ । उक्त कलेजबाट हालसम्म आठ सय ६४ जना दीक्षित भइसकेका छन् ।

कलेजबाट सात वर्षका अवधिमा १० देशका ५३ जनाले स्नातकोत्तरको उपाधि हासिल गरिसकेको कलेजले जनाएको छ । भारत, चीन, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, मलेसिया, दक्षिण कोरिया, बेलायत र अमेरिकाका सैनिक पनि स्टाफ कलेजका लागि शिवपुरी आउने क्रम बढ्दो रुपमा रहेको छ ।

नेपाली सेनाले शान्ति सेना, प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन र मानवअधिकारका बारेमा प्रस्तुत गर्ने जानकारीमूलक अभ्यासबाट विदेशी सेना निकै आकर्षित भएको बताइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्