
काठमाडौं — पाकिस्तानको सर्वोच्च अदालतले ईश्वरनिन्दाको आरोपबाट एक क्रिस्चियन महिलालाई बुधवार सफाइ दिएपछि देशभरि हंगामा मच्चिएको छ ।
पाकिस्तानका अनेकौं शहरमा लाखौं मानिस सडकमा आए । सरकार, अदालत र सेनाविरुद्ध नाराबाजी गरियो ।
पाकिस्तानको सर्वोच्च अदालतका न्यायाधीशहरूविरुद्ध भीडले चर्को टिप्पणी गरेर सेनाप्रमुख मुसलमानै नभएको दाबी गरिदियो ।
उग्रवादीहरूले सेनालाई सेनाप्रमुखविरुद्ध विद्रोह गर्न आह्वान गरे ।
स्थिति बिग्रँदै जाँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भिडियो सन्देश जारी गरेर न्यायाधीशरूले इस्लामी कानूनअन्तर्गत नै फैसला सुनाएको बताए । त्यसैले फैसलालाई सबैले स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।
सन् २०१० मा चार सन्तानकी आमा आसियाले मुसलमान छिमेकीहरूसँग विवाद गरेकी थिइन् । चर्को घाम लागेपछि प्यास लागेर उनले इनारनजिक मुसलमान महिलाका लागि राखिएको पानी पिइन् ।
त्यसपछि मुसलमान महिलाहरूले गिलास अशुद्ध भएको बताए । आसियाले छिमेकीहरूलाई सम्झाउँदै क्राइस्ट र पैगम्बर मोहम्मदको तुलना गरिन् । त्यसपछि छिमेकीहरूले उनीमाथि ईश्वरनिन्दा कानूनअन्तर्गत मुद्दा दर्ता गरे । विगत आठ वर्षदेखि आसिया जेलमा छिन् ।
सर्वोच्च अदालतले आसियालाई दिइएको फाँसीको सजायलाई उल्ट्याउँदै सफाइ दिएपछि पाकिस्तानका अनेकौं शहरका मस्जिदमा मानिस भेला हुन थाले । केही घन्टामै अनेकौं ठाउँमा सयौं मानिस आए र आगजनी गर्न थाले । विरोध प्रदर्शनका कारण धेरै राजमार्गहरू बन्द भए ।
बुधवार रिहा भएपछि आसियाले भनिन्, ‘मैले स्वतन्त्रता पाएकोमा विश्वासै गर्न सकिरहेको छैन । यो देशमा हाम्रो जिन्दगी मुश्किलले कट्दैछ ।’
धेरैजसो धार्मिक संगठनहरूले अदालतको फैसला विदेशी तागतबाट प्रेरित भएको बताएका छन् ।
पाकिस्तानमा बहुसंख्यक जनता ईश्वरनिन्दा कानूनको समर्थन गर्छन् । पूर्व सैन्य तानाशाह जियाउल हकले सन् १९८० को दशकमा यो कानून ल्याएका थिए ।
एजेन्सी