
धनगढी– किसानहरुले रासायनिक मलको चरम अभाव खेपिरहेको बेला सरकारी अनुदानको रासायनिक मल व्यापारीहरुको गोदामबाट मंहगो मूल्यमा बिक्रि वितरण भैरहेको पाइएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेड, जिल्ला प्रशासन कार्यालय कैलालीलगायतको टोलीले कैलालीको बलिया बजारमा बुधबार अनुगमन गर्दा महंगो मूल्यमा मल बिक्रि वितरण भैरहेको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका नायब सुब्बा ईश्वरदत्त जोशीले लम्की चुहा नगरपालिका–४ बलिया बजारस्थित ३ वटा पसलमा छापा मार्दा ५२ बोरा डिएपी र ३ बोरा यूरिया गरी ५५ बोरा मल बिक्रि वितरण गरिरहेकै अवस्थामा फेला पारेको जानकारी दिए । फेला परेको १ बोरा साल्ट ट्रेडिङले बितरण गर्दै आएको मल हो, भने बाँकी कृषि सामग्रीले बितरण गर्दै आएको मल रहेको प्रशासनले जनाएको छ ।
नासु जोशीका अनुसार बलिया बजारस्थित दुखीराम चौधरीले सञ्चालन गर्दै आएको लहानु एग्रोभेटबाट २८ बोरा डिएपी फेला परेको हो । उनले प्रतिकिलो ६० रुपैयाँमा बिक्रि गर्दै आएका थिए ।
बलियाकै रामेश्वर चौधरीले सञ्चालन गर्दै आएको पूजा ट्रेडिङबाट ३ बोरा यूरिया र १७ बोरा डिएपी पाइएको हो । उनले डिएपी प्रतिकिलो ५१ रुपैया र यूरिया प्रति किलो २ हजार ४ सय ५० रुपैयाँमा बिक्रि गर्दै आएका थिए ।
त्यस्तै, बलिया बजारकै जनकबहादुर शाहीले सञ्चालन गर्दै आएको न्यू शाही ट्रेडर्सबाट ७ बोरा डिएपी मल फेला परेको छ । शाहीले प्रति किलो डिएपी मल साढे २ हजार ४ सय ५० रुपैयाँमा बिक्रि गर्दै आएको खुलेको हो ।
प्रशासनले तिनीहरुबाट फेला परेको मल सील गरेको छ । भने ब्यापारीहरुलाई कार्तिक १८ गते प्रशासनमा उपस्थित हुन निर्देशन दिएको छ । तर व्यपारीहरुले कुन निकायबाट मल खरिद गरे भन्नेबारे भने खुल्न सकेको छैन ।
मलको चरम अभाव भएको मौका छोपी जिल्लाको विभिन्न स्थानमा मलको कालोबजारी भैरहेको पाइएको छ । जुनकारण किसानहरुले अनुदानको मल महंगो मूल्यमा खरिद गर्न बाध्य भएका छन् । जसको लागि अनुगमनमा कडाई गरिनुपर्ने किसानहरुको माग छ ।
अनुदानको मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेडबाट सहकारी संस्था मार्फत किसानलाई मल बिक्रि वितरण हुँदै आएको छ । तर सम्बन्धित सरकारी कम्पनी र सहकारी संस्थाहरुको बदमासीको कारण मलको कालोबजारी भएको हो ।
अनुदानको मल सहकारी संस्था बाहेकका निकायले किसानलाई बिक्रि वितरण गर्न नपाइने प्राबधान रहेको छ । अन्यले बिक्रि गरेको अवस्थामा कालोबजारी ऐन अन्तरगत कारवाही हुने साल्ट ट्रेडिङ कार्पोरेसन अञ्चल कार्यालय धनगढीका सहायक महाप्रबन्धक केशव पाण्डेले जनाए । तर अनधिकृत रुपमा मलको बिक्रि वितरण गर्ने बलियाका ति व्यापारीहरुलाई के कारवाही गर्नेवारे प्रशासन आफै अन्यौलमा रहेको पाइएको छ ।
कालोबजारी गर्ने ब्यापारीलाई के कारवाही हुन्छ भन्ने जिज्ञासामा नासु जोशी भन्छन्–‘उनीहरुलाई के कानूनी कारवाही हुन्छ भन्नेवारे यकिन हुन सकेको छैन । १८ गते उनीहरुलाई उपस्थित हुन भनेका छौ ।’
कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालय र साल्ट ट्रेडिङको अञ्चल कार्यालय धनगढीबाट सहकारी संस्थाहरुले डिएपी प्रतिबाेरा २ हजार २ सय ६३ रुपैयाँ ५० पैसा, यूरिया प्रतिबाेरा ८ सय १३ रुपैयाँ ५० पैसा र पोटास प्रतिबाेरा १ हजार ६ सय ६३ रुपैयाँ ५० पैसामा खरिद गर्दै आएका छन् ।
किसानहरुलाई हिउँदे सिजनको चटारो भएको बेला सुदूरपश्चिम प्रदेशमा मलको अभाव कायमै रहेको छ ।