१२ असार २०८३, शुक्रबार

निर्मला हत्याका सय दिन : अनुसन्धान अझै शंकामा, प्रधानमन्त्री ओली आज ‘डिस्चार्ज’ हुने

कात्तिक १६, २०७५
निर्मला हत्याका सय दिन : अनुसन्धान अझै शंकामा, प्रधानमन्त्री ओली आज ‘डिस्चार्ज’ हुने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गरी बिहीबार बेलुका स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले स्वागत गर्नुभयो । कतार भ्रमणको उपलब्धिबारे जानकारी दिन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमण दुईपक्षीय हितका लागि फलदायी र उपलब्धिमूलक भएको बताए ।

भ्रमण अवधिमा मुख्य गरी तीन दस्तावेजमा हस्ताक्षर भएको जानकारी गराउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भने, “दुई मुलुकका सरकारी र कूटनीतिक राहदानीवाहकका लागि प्रवेशाज्ञा अनुमति दिने विषयले उच्चस्तरीय भेटघाट र भ्रमणलई सहज बनाउनेछ ।” कृषि तथा खाद्य सुरक्षामा भएको सम्झौताले यस क्षेत्रमा सहयोग आदानप्रदानको बाटो खोलेको छ । दस्तावेजले दुई मुलकका सुरक्षा अधिकारीबीच पनि सुरक्षाका क्षेत्रमा मिलेर काम गर्ने विषयलाई पनि समेटेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

निर्मला हत्याका सयदिन : अनुसन्धान अझै शंकामा
कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सयदिन पूरा भएको छ । तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन् । प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ। अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ ।

‘अनुसन्धान भइरहेको छ, तर यहाँ पुग्यो भन्ने अवस्था छैन ।’ जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले भने, ‘केन्द्रदेखि जिल्लासम्म थुप्रै टोली अनुसन्धानमा खटिएका छौं ।’ ‘अनुसन्धानका थुप्रै पाटा हुन्छन्, ती सबै प्रयोग गरिएको छ’, उनले भने, ‘ प्रहरीले सम्पूर्ण शक्ति लगाएको छ ।’

निर्मलाका आमाबुवा न्यायका लागि भौंतारिरहेका छन् । हत्यारा पक्राउ पर्लान् र न्याय पाइएला भन्ने उनीहरूको आशा मर्दै जान थालेको छ । ‘न्याय मागिरहेका छौं’, निर्मलाका बुवा यज्ञराजले भने, ‘सरकारले उल्टै पीडा दियो ।’ सरकार हत्यारा पत्ता लगाउनभन्दा अन्य विषयतर्फ केन्द्रित भएको उनको आरोप छ। ‘न्यायका लागि शान्तिपूर्ण आन्दोलन गर्दा उल्टै गोली हाने। दुःख मात्रै भयो’, उनले थपे, ‘न्याय नपाएसम्म निरन्तर लडिरहन्छौं।’ आन्दोलनका घाइतेको उपचारमा समेत सरकारले लापरबाही गरेको उनले बताए ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रधानमन्त्री आज डिस्चार्ज हुने
छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार आएको छ । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सन्तोषजनक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ । नेपाल समाचारपत्रमा छापिएको खबरअनुसार प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्र्चाज हुनुहुने भएको छ । छाती र सुगरमा समस्या देखपरेपछि उहाँ त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको थियो ।

नियमित स्वास्थ्य परीक्षणपछि उहाँ पूर्व अवस्थामा फर्कनुभएकाले शुक्रबार डिस्चार्ज गर्न लागिएको डा. अरूण सायमीले जानकारी दिनुभयो । उहाँ सरकारी निवासमा केही दिनको आरामपछि काममा फर्कनुहुने भएको छ ।

कांग्रेसको चियापानमा एक लाखलाई निम्ता 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले शुक्रबार केन्द्रीय कार्यालय सानेपा र अन्य जिल्लामा पनि चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष काङ्ग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । 

काङ्ग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै यही कात्तिक १६ गते अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चार गृह, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका प्रमुखलगायतका विशिष्ट महानुभाव, काङ्ग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने प्रवक्ता शर्माले बताए ।

हरेक वर्ष विजया दशमी कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने काङ्ग्रेसको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता चक्रप्रसाद बास्तोलाको निधनको १३औँ दिन नपुगेका कारण कात्तिक १६ गते सारिएको हो । 

‘त्रिविका प्राध्यापकले जिम्मेवारी पूरा गरेनन्’ 
त्रिभुवन विश्वविद्यालयका स्थायी प्राध्यापकले तोकिएकोभन्दा कम कक्षा लिने गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा स्थायी शिक्षकले हप्तामा १२ देखि १५ वटा कक्षा लिनुपर्ने कानूनी व्यवस्था भए पनि तीनदेखि चार वटा कक्षा मात्र लिइएको पाइएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए ।

केन्द्रले विश्वविद्यालयको विज्ञान सङ्कायको केन्द्रीय विभागहरू, इञ्जिनियरिङ अध्ययन संस्थानको पुल्चोक क्याम्पस, त्रिचन्द्र क्याम्पस र अमृत क्याम्पसमा गरेको अनुगमनका नियम विपरीत प्राध्यापकले कम कक्षा लिई पूरा तलब लिइरहेका उनले बताए । केन्द्रका प्रहरी उपरीक्षक रञ्जन विष्टको संयोजकत्वमा गत चैतदेखि असारसम्म त्रिविका क्याम्पसको अवस्थाबारे छानबिन गरिएको थियो ।

शिक्षक–कर्मचारीको सामाजिक सञ्जाल निगरानी गर्दै शिक्षा मन्त्रालय 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल र मोबाइल फोन दुरुपयोग नियन्त्रणका लागि मार्ग निर्देशन जारी गरेको छ । ‘सामाजिक सञ्जाल र मोबाइलको फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५’ जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जालको बढोत्तरीसँगै सार्वजनिक सेवा प्रवाहका कामकारवाहीबारे नकारात्मक टीकाटिप्पणी रोक्न कानूनी प्रबन्ध गरेको हो ।

सामाजिक सञ्जालको सही प्रयोग नहुँदा त्यसको दुरुपयोगबाट राष्ट्रसेवक कर्मचारी र शिक्षकको आचरणासमेत प्रश्न उठ्ने सम्भावना रहेकाले त्यस्ता दुरुपयोग नियन्त्रण गर्न सो मार्गनिर्देशन जारी भएको हो । शिक्षा मन्त्रालय र मातहतका निकायका सार्वजनिक सेवा प्रवाहका क्रममा भए गरेका काम कारवाही, प्रस्तावित नीति तथा कार्यक्रमजस्ता विषयमा अमर्यादित भाषामा टीकाटिप्पणी गर्ने, आन्तरिक विषय परिपक्व नहुँदै सार्वजनिक गर्ने तथा सरकारी नीतिविपरीतका भनाइ सामाजिक सञ्जालमा ‘पोष्ट’ गर्ने कार्यलाई मार्ग निर्देशनले निषेध गरेको छ । 

जनकपुर विकास परिषद्का पदाधिकारीविरुद्ध मुद्दा दायर 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले कोषका तत्कालीन अध्यक्ष दीगम्बर रायले रु ७६ लाख २८ हजार ५०२, तत्कालीन कार्यकारी निर्देशक डा सूर्यदेव साह रु ६२ लाख ८८ हजार ५६९, नायब सुब्बा उषा मिश्र रु ६६ लाख ४२ हजार ६६४ भ्रष्टाचार गरेको अभियोग लगाएको छ । 

यस्तै कोषका लेखापाल उत्तमराज शर्मा ढकालले रु ६२ लाख ८८ हजार ५६९, तत्कालीन सवइञ्जीनियर पर्शुराम साहले रु तीन लाख ५४ हजार ९५, तत्कालीन कार्यकारी निर्देशक राजेशकुमार साह रु ६२ लाख ८८ हजार ५६९, यस्तै कोषका अर्का तत्कालीन कार्यकारी निर्देशक गोपाल झा रु नौ लाख ८५ हजार ८३८, इञ्जीनियर उपेन्द्र झा रु १३ लाख ३९ हजार ९३३ भ्रष्टाचार गरेको अभियोग लगाएको छ । 

यसैगरी ठेकेदार प्रतिनिधि विष्णुबहादुर राउत रु नौ लाख ८५ हजार ८३८ र ठेकेदारका अर्का प्रतिनिधि प्रदीपनाराण शाहले रु तीन लाख ५४ हजार ९५ बराबरको भ्रष्टाचार गरेको अभियोग आयोगले लगाएको छ । स्थानीय रङ्गभूमि मैदान, गङ्गासागर र तिरहुतीया गाछी संरक्षण कार्य लगायत विभिन्न आठ वटा ठेक्काको बोपलत्र मूल्याङ्कन प्रक्रिया र निर्माण कार्यमा अनियमितता भएको आयोगको ठहर छ । 

आन्दोलनरत करार कर्मचारीलाई सिंहदरवार प्रवेशमा रोक
सरकारको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । लामो समयदेखि अस्थायी, करार र ज्यालादारीमा कार्यरत आफूहरुलाई सरकारले बिना कुनै कारण हटाएको भन्दै आन्दोलनमा उत्रिएका उनीहरुलाई बिहीबारबाट सिंहदरवार प्रवेशमा रोक लगाइएको हो । सिंहदरवारको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले आफूहरुका परिचय पत्र खोसेर भित्र जान नदिएको आन्दोलनरत करार कर्मचारी चेतुप्रसाद रेग्मीले  जानकारी दिए ।

मुख्यमन्त्रीलाई अभद्र व्यवहार गर्दा स्थापितको मन्त्री पद धरापमा
प्रदेश नम्बर ३ को बुधवारको मन्त्रिपरिषद् बैठक औपचारिक रूपमा सकिएपछि बैठकस्थलमा अनपेक्षित घटना भयो । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित ‘म केही कुरा राख्छु,’ भन्दै बोल्न थाले ।

मन्त्री स्थापितको प्रस्तुति उग्र थियो । उनी टेबुल ठटाउँदै चिच्याउन थाले । मुख्यमन्त्री डोरमणि पौडेललाई गालीगलौज समेत गरे । मुख्यमन्त्री चुपचाप बसेर सुनिरहेका थिए । दैनिक कामकाजका सामान्य विषयमा आरोपित गर्दै उनी मुख्यमन्त्रीमाथि खनिएका थिए ।

‘केही कुरा छ भन्दै बोल्न थाल्नुभएका स्थापित मन्त्रीज्यू अभद्र शैलीमा प्रस्तुत हुनुभयो । मुख्यमन्त्रीज्यूलाई गालीगलौज समेत गर्नुभयो,’ अर्का एक मन्त्रीले लोकान्तरसँग भने, ‘हामीले यो कुरा यहाँ नगरौं, यस विषयमा छुट्टै बसेर कुरा गर्दा उचित हुन्छ भन्यौं तर उहाँ टेबुल ठटाउँदै चिच्याउन छाड्नुभएन ।’

त्यसो त बैठकअघि मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच करीब डेढ घण्टा एक्लाएक्लै बसेर छलफल भइसकेको थियो । ‘मुख्यमन्त्रीज्यूसँग बैठकअघि उहाँले करीब डेढ घण्टा बसेर छलफल गर्नुभएको रहेछ,’ ती मन्त्रीले भने, ‘त्यसका बावजुद् पनि बैठकस्थलमा उहाँको प्रस्तुति निकै अभद्र थियो ।’

एक्लाएक्लै बसेर छलफल गरेपछि पनि स्थापितको त्यस्तो शैलीबाट निराश बनेका मुख्यमन्त्री उनलाई मन्त्रीपदबाट हटाउने मनस्थितिमा पुगेका छन् । उनले यस विषयमा पार्टी नेतृत्व र प्रधानमन्त्री ओलीसँग पनि छलफल गर्दैछन् ।

पाकिस्तान र बङ्गलादेश साफ यू–१५ को फाइनलमा
बङ्गलादेश र पाकिस्तान साफ यू–१५ फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा बिहीबार भएको पहिलो सेमिफाइनलमा अघिल्लो संस्करणको विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा भारत पराजित भएको हो । 

यस्तै दोस्रो सेमिफाइलमा नेपाललाई ४–० गोलले पराजित गर्दै पाकिस्तान फाइनलमा पुगेको छ । पहिलो हाफमा पाकिस्तानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो । दोस्रो हाफमा  नेपालका जान लिम्बूले पाकिस्तानी खेलाडीलाई डिबक्सभित्र लडाएपछि उनले  रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सीमित भयो ।

नेपालले अब तेस्रो स्थानका लागि भारतसँग आगामी शनिबार प्रतिस्पर्धा गर्नेछ । सोही दिन उपाधिका लागि बङ्गलादेश र पाकिस्तान भिड्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्