
काठमाडौं– बङ्गलादेश र पाकिस्तान साफ यू–१५ फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा बिहीबार भएको पहिलो सेमिफाइनलमा अघिल्लो संस्करणको विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो ।
पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा भारत पराजित भएको हो । यस्तै दोस्रो सेमिफाइलमा नेपाललाई ४–० गोलले पराजित गर्दै पाकिस्तान फाइनलमा पुगेको छ । पहिलो हाफमा पाकिस्तानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो ।
दोस्रो हाफमा नेपालका जान लिम्बूले पाकिस्तानी खेलाडीलाई डिबक्सभित्र लडाएपछि उनले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सीमित भयो । नेपालले अब तेस्रो स्थानका लागि भारतसँग आगामी शनिबार प्रतिस्पर्धा गर्नेछ । सोही दिन उपाधिका लागि बङ्गलादेश र पाकिस्तान भिड्नेछन् ।