
काठमाडौं। सफल चलचित्र ‘विर विक्रम’को दोस्रो श्रृङखला ‘विर विक्रम २’ निर्माण हुने भएको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण युनिटले चलचित्रको औपचारिक निर्माण घोषणा गरेको हो ।
चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आई प्रोडक्शनको ब्यानरमा मिलन चाम्सको निर्माण तथा निर्देशनमा यो चलचित्र बन्न लागेको हो । घोषणा कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरुलाई ब्याण्डबाजासहित स्वागत गरिएको थियो ।
कात्तिक २६ गतेबाट छायाँकनमा जाने चलचित्रमा आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा रहनेछन् । साथमा बर्षा सिवाकोटी, वुद्धि तामाङ, विजय लामा, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी र बाल कलाकार मनिष लिम्बुको लगायतको अभिनय रहनेछ । चलचित्रको कथा प्रदीप भारद्धाजले तयार पारेका हुन । अर्पण सापकोटा सह–निर्माता रहेको चलचित्रमा रन्जित गजमेर, राजनराज शिवाकोटी र ताराप्रकाश लिम्बुको संगीत रहनेछ । कार्यक्रममा निर्माता तथा निर्देशक मिलन चाम्सले भिन्न खालको मित्रताको कथामा चलचित्र बन्ने जानकारी दिए ।
चलचित्रमा सुदिप बरालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्ध, बनिष शाहको सम्पादन रहनेछ । चलचित्रको घोषणा कार्यक्रममा सबै कलाकारलाई ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । चलचित्र आउँदो नयाँवर्ष २०७६ को अवसर पारेर प्रदर्शनमा ल्याउने निर्माण टिमको सोँच छ ।