०८ असार २०८३, सोमबार

रामनगर गोलीकाण्डका घाइते वडाध्यक्ष महतोको चिन्ता–अब गाउँमा कसरी बस्ने ?

कात्तिक १६, २०७५
रामनगर गोलीकाण्डका घाइते वडाध्यक्ष महतोको चिन्ता–अब गाउँमा कसरी बस्ने ?

सर्लाही – सर्लाहीको रामनगर गाउँपालिका–४ मा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच विवाद बढेर गोलीकाण्ड भएपछि गाउँबाट नेकपाका युवाको भागाभाग भएको छ ।

नेकपाका कार्यकर्ताको गोली प्रहारबाट मंगलवार कांग्रेसका रामविलाश महतोको मृत्यु भएपछि गाउँ अशान्त बनेको छ । सोमवार वडाध्यक्ष रामनरेश महतोमाथि नेकपा कार्यकर्ताले कुटपिट गरेपछि विवाद बढेर गोलीकाण्ड भएको थियो ।

सर्लाहीको मलंगवास्थित जिल्ला अस्पतालमा उपचार गराइरहेका घाइते वडाध्यक्ष महतोसँग लोकान्तरकर्मी अजय अनुरागीले गरेको कुराकानीको सारांश महतोकै शब्दमा :

विक्रम सम्वत् २०६८ सालमा मेरो गाउँमा आपसी झगडा भएको थियो । झगडाको क्रममा मेरो चार दाजुभाइलाई जबर्जस्ती आक्रमण गरियो । गाउँकै श्रीनारायण यादव, शुभनारायण यादव, धर्मेन्द्र साह लगायतको समूहले हामीमाथि आक्रमण गरेको थियो । हामी त्यतिबेला पनि नेपाली कांग्रेस नै थियौं र विपक्षी आक्रमणकारी त्यसबेला तमलोपामा आवद्ध थिए ।

हामी घाइते भएर बेहोस भई अस्पतालमा भर्ना समेत भयौं । १३ दिनसम्म अस्पतालमै भर्ना हुनुपरेको थियो । मेरो दाजु भोजेन्द्र महतोको बायाँ खुट्टा भाँचिएको थियो, दाजु प्रेमनारायण महतोको दाहिने खुट्टा भाचिएको थियो भने टाउको समेत फुटेको थियो । 

शिवनारायण महतोको त आँखा नै ड्यामेज भयो । उनीहरूले त्यतिबेला पनि लाठी, भाला, फरोसाले सांघातिक आक्रमण गरेका थिए । मेरो पनि टाउको फुटेको थियो । 

त्यसपछि तत्कालीन प्रहरी उपरीक्षक (एसपी) शरदचन्द्रलाई हामीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्न भनेका थियौं । तर, विपक्षीको दबाबमा त्यो मुद्दा चलाइएन । केही सार्वजनिक अपराधको मुद्दा मात्र दर्ता गरियो ।
मुद्दामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश घिमिरेले विपक्षीलाई जनही ५० हजार रुपैयाँको दरले जरिवाना गरेका थिए । उनीहरूले त्यस मुद्दाको पुनरावेदन जिल्ला अदालत सर्लाहीमा गरेका छन् । त्यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा छ ।

स्थानीय चुनावको क्रममा म कांग्रेसको तर्फबाट उम्मेदवार भएर वडा अध्यक्षमा विजयी भएँ । नेकपा माओवादीको तर्फबाट धर्मेन्द्र साह मेरो प्रतिद्वन्द्वी थिए । उनी गाउँघरमा अभ्यासरत डाक्टर पनि हुन् ।

शुभनारायण रायले २०५४/५५ सालमा गाउँकै ८२ वर्षका राधे राय र कल्पतिया देवीको हत्या गरेका थिए । दीपनारायण राय त्यतिबेला गाविस अध्यक्ष थिए । तर, शुभनारायणका हजुरबुवा तपस्वी रायले तत्कालीन गाविस अध्यक्ष दीपनारायण राय, महेन्द्र राय लगायतलाई त्यस हत्या मुद्दामा उल्टै फसाएर जेल पठाउन लगाए । शुभनारायणको हजुरबुवा तपस्वी राय शुरूमा नेपाली कांग्रेसमै थिए । पछि एमालेमा गयो । एमालेबाट टिकट नपाएपछि सद्भावनामा गयो । सद्भावनाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बने । त्यसपछि जेलमा रहेका दीपनारायणलाई चुनावमा भोट दिने शर्तमा सहमति गरेर दीपनारायणलाई तपस्वी रायले जेलबाट निकाले । दीपनारायण लगायतले चुनावमा गाउँबाट भरपुर सहयोग गरे । तर पनि तपस्वी चुनावमा पराजित भए ।

अहिले जब स्थानीय तहमा मैले जिते । श्रीनारायण राय, शुभनारायण राय, धर्मेन्द्र साह, नागेन्द्र यादव लगायतले मलाई धाकधम्की दिन थाल्यो । ‘तिमी कुशवाहा महतो यो गाउँमा ५÷१० घर मात्रै छौ, हामी राय यादव बहुसंख्यक छौ । तिमी अल्पसंख्यकले चुनाव जितेपनि तिमीलाई हामी सत्ताशासन चलाउन दिन्नौ । हामीले नै सत्ता चलाउँछौ ।’ शुभनारायण जिविस सर्लाहीमा २० वर्षसम्म खरदार भएर काम गरेका व्यक्ति हुन् । त्यसैले हारे पनि आफ्नो साम्राज्य कायमै राख्न चाहन्थ्यो ।

शुभनारायणको समूहले ५ महिनाअघि वडासचिव धर्मेन्द्र अधिकारीलाई आक्रमण गरेर टाउको फुटाइदिएको थियो । वडासचिवले उनीहरूलाई कारबाही गर्न भन्दै एसपी साहेब कहाँ पनि गए । तर, एसपी साहेबले कुनै पनि कारबाही गर्नुभएन । धर्मेन्द्र साह, नगेन्द्र यादव, श्रीनारायण यादव, श्रीनारायणका भतिजा राजिवकुमार यादव गरी ५ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न भन्दा पनि एसपी साहेबले मुद्दा दर्ता गर्नुभएन । 

शुभनारायणले वडासचिव अधिकारीलाई ‘तिमी बाहिरको मान्छे हौ, यहाँ कति दिन टिक्न सक्छौ’ भन्दै धम्की दिन थाले । उता केन्द्रबाट समेत एसपीलाई दबाब दिलाएर मुद्दा दर्ता हुन दिएन । न त प्रहरीले कसैलाई पक्राउ गर्यो । वडा सचिवलाई दिएको धम्की मेरो मोबाइलमा पनि रेकर्ड थियो । तर, अस्ति आक्रमण गर्दा मेरो मोबाइल पनि उनीहरूले लुटे । उसले दिएको धम्कीको कल रेकर्डिङ सचिव अधिकारीसँग अहिले पनि छ ।
सचिव अधिकारी डराएर सरुवा गराए । त्यसपछि अर्को सचिव राम जन्गडिया बैठा आए । मैले जनताको पक्षमा काम गरिरहेको थिएँ । भ्रष्टाचार हुन दिइरहेको थिएन । त्यसैले मेरो कामबाट खुशी हुँदै उनीहरूकै टीममा रहने मौजेलाल यादव लगायतको मानिस नेकपा परित्याग गरेर मेरो पार्टी कांग्रेसमा आए । 

त्यसैको झोकमा २०७५ असोज २८ गते गाउँको पूर्वारी टोलमा दशरथ राउतको घरमा राति ११ बजे उनीहरूले धावा बोले । डाकु आयो भनेर चिच्याउँदा पनि सहयोग भएन । रविन्द्र यादव, महादेव यादव, रामविनोद सहनी, प्रमोद सहनी, बच्चेलाल यादवलाई उनीहरूले कुटपिट गर्दै घाइते बनायो । बच्चेलालको पत्नीलाई त मरणासन्न हुने गरी कुटपिट गर्यो । मेरो र बच्चेलाल यादवको घर पनि उनीहरूले लुटे ।

हामी फेरी अस्पताल भर्ना भयौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा डाँका, लुटपाट लगायतको मुद्दा दर्ता गर्न पुग्यौं । फेरि पनि एसपी साहेबले मुद्दा दर्ता गर्नुभएन । मुद्दा फाँटका इन्सपेक्टर देवले मुद्दा दर्ता नगरेर गाउँमै मिल्न भन्नुभयो । हामीले गाउँमा मिल्ने कुरै होइन, हामी अल्पसंख्यक छौं, उनीहरूले चाहे अनुसार नै हुन्छ, त्यसैले मुद्दा दर्ता गर्न भन्यौं । तर, पनि एसपी साहेबले कुरा टार्नुभयो ।

त्यसपछि हामीले जाहेरी हुलाकमार्फत् पठायौं । त्यसैको प्रतिशोध निकाल्न उनीहरूले फेरि मलाई आक्रमण गर्यो । गत कात्तिक १२ गते म आफ्नो घरबाट मोटरसाइकल चढेर वडा कार्यालय जाँदै थिएँ । ११ बजेको समय थियो । उपेन्द्र रायको घरमा बसिरहेको २०–२५ जनाको हुल अचानक मेरो अगाडि आए । मैले मोटरसाइकल रोकें । यही हो, सबैको नाइके, यसैलाई मारे समस्या समाधान हुन्छ भन्दै लाठी, मुक्का, लात्तीले मलाई हान्न थाले । भाग्दै राम एकबाल साहको घरमा मैले शरण लिएँ । प्रहरी प्रशासन पनि आयो । 

जिल्लाबाट एम्बुलेन्स बोलाएर मलाई जिल्ला अस्पताल मलंगवामा भर्ना गरियो । धर्मेन्द्र साह र श्रीनारायण यादवले गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्मालाई पनि कुटिसकेका छन् । अध्यक्ष कायस्थ जातिका हुन् । यो गाउँपालिकामा ४/५ घर जति मात्र कायस्थ छन् ।

यता म घाइते भएर अस्पतालमा छु । त्यसको भोलिपल्ट उनीहरूले मेरो घरमा गएर लुटपाट गर्दै बन्दुक चलाएर मेरो आफ्नै काका रामविलाश महतोको हत्या नै गरिदिए । मेरो आफ्नै दाजु प्रेमनारायण महतो, आफन्त श्रीनारायण महतो, भोजिन्द्र महतो, भाई विवेक महतो, प्रमोद सहनी, महादेव राय, भतिजा मुकेशकुमार कुशवाहालाई गोलीको छर्रा लागेको छ ।
यदि मलाई कुट्ने ती अपराधीहरूलाई प्रहरीले त्यतिबेलै पक्राउ गरेर कारबाही गरेको भए मेरो काका मर्नु हुन्थेन । तर प्रहरीले उल्टै संरक्षण गर्यो । अब हामी गाउँमा अल्पसंख्यक छौं । उनीहरूले हामीलाई बाँच्न दिँदैनन् ।

स्थानीय वासिन्दा राजेशप्रसाद कुशवाहको भनाइ

गत सोमवार दिउँसोको ११ बजेतिर वडाध्यक्षजीलाई कुटपिट गरियो । उहाँ पार्टी सभापतिको घरमा शरण लिएर बाँच्नुभयो । २–३ घण्टापछि प्रहरी आयो । मुचुल्का उठाउँदासम्म अपराधीको घरमा खानतलासी गरेको भए अर्काे दिन गोलीकाण्ड घटना नै हुने थिएन ।

नेकपाका कार्यकर्ताले पहिले पनि यो गाउँमा कांग्रेस जिते पनि केही हुँदैन । विधायक, एमपी जितेपनि केही हुँदैन । केन्द्रमा हाम्रो सत्ता छ, हामीले जनतालाई आफ्नो साथ लिनुपर्छ । त्यसका लागि जनतालाई डर त्रास देखाउनुपर्छ भन्ने गरेका थिए । उनीहरूले गाउँमा पटक–पटक ढुंगामुढा गर्ने, घरको टायल, खपडा फुटाउने काम गर्दै आएका थिए । त्यसको कतिपय मुद्दा नै दर्ता भएको छ । तर पनि अपराधी गाउँघरमा खुलेआम घुम्थे । उनीहरूलाई प्रहरीले पक्राउ गर्दैनथ्यो । त्यसले पनि उनीहरूको मनोबल झन् बढेर गएको थियो ।

सोमवार वडाध्यक्षलाई पिटेपनि प्रहरीले मुचुल्का उठाउँदा पनि कसैलाई पक्राउ गरेन । त्यही घटनालाई लिएर भोलिपल्ट बिहान उनीहरू समूहमै आएर ढुंगामुढा गर्न थाले । यताका मानिस पनि आफ्नो आँगनमा एकत्रित भएर जवाफमा ढुंगामुढा गर्न थाले । २ मिनेट जति दोहोरो ढुंगामुढा भएको होला । त्यत्तिकैमा उताबाट नेकपाका समूहले गोली चलाउन थाले । लगभग बिहान ७ बजेतिरको घटना हो यो । ८ बजे मान्छे मरिसकेको थियो ।

मान्छे मरेको आधा घण्टा भइसकेको थियो । प्रहरी प्रशासन पनि आउँदैन । उनीहरूले ताकी–ताकी मान्छेलाई मार्ने उद्देश्यले गोली चलाइरहेको थियो । म पनि थिएँ, त्यो घटनामा । ममाथि पनि उनीहरूले गोली चलाएका थिए । मैले हेल्मेट लगाएको थिएँ । उनीहरूको गोलीको रेन्ज पनि सायद नपुगेको होला । तर मतर्फ पनि फायर गरेकै हो । हामी १० जना आफ्नै घरमा घटनास्थलमा थियौं । १ जना मान्छे नै मर्यो, ७ जना गोली लागेर घाइते भयो ।

प्रहरी प्रशासनले धेरै कमीकमजोरी गर्यो । ८ बजे मान्छे मारिसक्दा पनि ११ बजेसम्म त्यहाँ केही पनि नभएको, अवस्था सामान्य रहेको भन्दै स्थानीय सञ्चारमाध्यममा प्रहरीले भनिरहेको थियो । मान्छे मरेको कुनै अत्तोपत्तो छैन भनेर ११ बजेसम्म प्रहरीले भनिरहेको थियो । तर, हाम्रो विधायक ज्यूहरू विरेन्द्र सिंह, उपेन्द्र कुशवाहा घटनास्थलमा आउन खोज्दा प्रहरीले तपाईंहरू त्यहाँ नजानुस्, गाउँमा तनाव छ, हामी तपाईको सुरक्षा दिन सक्दैनौं भनेर भनेको थियो । तर पनि दुवै विधायक आउनुभयो ।

सांसद अमरेशकुमार सिंह पनि घटनास्थलमा आउन लाग्दा सीडीओले तपाईं त्यहाँ किन जानुपर्यो, गए थप अराजक स्थिति आउन सक्छ र त्यसको जिम्मेवारी तपाईंले लिनुपर्छ भन्दै सीडीओले सांसद अमरेश सिंहलाई हप्कायो ।
४ बजेतिर सीडीओ साहेब, एसपी साहेब आफैं घटनास्थल आउनुभयो । अनि वास्तविक पीडित को हो, पीडक को हो, अपराधी को हो भन्ने कुरा उहाँहरूले पनि बुझ्नुभयो । त्यसपछि मात्र ४ बजेपछि गाउँमा सयौं प्रहरी खटिए । ४ बजेभन्दा पहिले खानतलासी गरेको भए सबै अपराधी पक्राउ पर्थे । त्यतिबेलासम्म ९० प्रतिशत अपराधी गाउँमै थिए ।

पुलिस प्रशासन गाउँमा आउन लाग्दा ४ राउण्ड जति फायरिङ पनि भएको थियो । प्रहरीले उनीहरूलाई लखेटर पक्राउ गर्नुभन्दा पनि उल्टै हामीलाई साइड भएर बस्नुस्, यहाँबाट भाग्नुस् भनिरहेका थिए । अब हाम्रो मान्छे मरेको छ, लाशलाई छोडेर कहाँ जाने, गाउँ नै छोडेर भाग्नुपर्थ्यो । एकदमै तनावपूर्ण अवस्था थियो । प्रहरी सत्तापक्षको प्रभावमा परेर अपराधीलाई गोली चलाउन, मान्छे मार्न अवसर दिएको थियो । यस्तो हुनुहुन्न ।

केही प्रहरी घटना भएको दिन बिहान ९ बजेतिर नै गाउँमा आएको थियो । ४ बजेपछि मात्र व्यापक प्रहरी गाउँमा परिचालन भयो । उनीहरूले भनिरहे अनुसार पहिले हामीले नै हवाई फायर गर्यौं, उनीहरूका घर लुट्यौं त्यो गलत कुरा हो । वास्तवमै यदि हामीले उनीहरूको घर लुटेको भए लुट्न जाँदा पक्कै पनि बन्दुक गोली लिएर जान्थ्यौं होला । उताका मान्छे पनि घाइते भएको हुन्थ्यो होला । तर बच्नका लागि अब उनीहरूले आरोप लगाइरहेका छन् । साँझ ४ बजेसम्म गाउँबाट करीब ४ सयदेखि ५ सयसम्मको संख्यामा उनीहरू भागेका हुन् । 

घाइते प्रेमनारायण महतो यसो भन्छन्

मेरो भाइ वडाध्यक्ष घरबाट कार्यालय जाँदै थिए । उपेन्द्रको घरनिर गएपछि कुटपिट गर्दै घाइते बनायो । पुलिसले मोटरसाइकल दुर्घटनामा घाइते भयो भनेर घटनालाई दबाउने कोसिस गर्यो । अपराधीलाई प्रहरीले पक्राउ गरेन । 
उनीहरूको मनोबल झन् बढ्दै गयो । भोलिपल्ट बिहान उनीहरू हाम्रो घरमै आएर ढुंगामुढा गर्न थाले । धेरै मानिसको हुल थियो । हामीले पनि जवाफमा ढुंगा हान्न थाल्यौं । त्यत्तिकैमा उनीहरूले गोली चलाउन थाले ।

शुभनारायण राय, श्रीनारायण राय, नरेन्द्र राय र धर्मेन्द्र साह चारै जनाको हातमा बन्दुक थियो । चारै जनाले गोली चलाउन थाले । गोली लागेर मेरो काका रामविलास त्यहीँ घरमै ढल्नुभएको थियो । मेरो काका मरे पनि उनीहरूले गोली चलाउन छोडेनन् । 

करीब १८ देखि २० राउन्डसम्म गोली चलाए । १ जना मारेपनि त्यही मुद्दा सबैलाई मारे पनि त्यही मुद्दा भन्दै उनीहरूले गोली चलाइरहे । करीब आधा घण्टासम्म गोली चलाइरहे । त्यहाँ छेउमा पुलिस पनि थियो । तर न त उसले पक्राउ गर्यो, न त हामीलाई नै पक्राउ गर्न दियो । पुलिसले नै उनीहरूलाई भगाउन मद्दत गरे ।

salt training

कमेन्ट गर्नुहोस्