
काठमाडौं — भारतको केरलमा ९६ वर्षीया कार्तियानी अम्माले अक्षरलक्ष्यम् साक्षरता कार्यक्रमअन्तर्गत भएको परीक्षामा ९८ प्रतिशत ल्याएकी छन् । यो कार्यक्रम केरल स्टेट लिटरेसी मिसनअन्तर्गत शुरू गरिएको हो ।
यो परीक्षामा कार्तियानीको पढ्न, लेख्न र हिसाब गर्न सक्ने क्षमताको परीक्षण गरियो । राम्रो साक्षरता दर भएको राज्य केरलले शतप्रतिशत साक्षरताका लागि यो कार्यक्रम शुरू गरेको हो ।
कार्तियानीले भनिन्, ‘म त अब पढिरहने हो । छिट्टै म चार क्लास सक्छु । अनि दश क्लास पनि पढ्छु । म सय वर्ष हुँदा दश क्लास सक्छु । त्यसपछि मेरो सरकारी जागिर भए हुन्थ्यो ।’
कार्तियानीसँगै उनका ज्वाईंले पनि तीन कक्षाको परीक्षा दिएका थिए तर सासूभन्दा १० नम्बर कम ल्याए ।
कार्तियानी भन्छिन्, ‘म र मेरा ज्वाईं दुवैले पढाइ गरेका थियौं । हामी दुवैले परीक्षा दिएका थियौं । तर उनले परीक्षामा उत्तरै बिर्से । मलाई चाहिँ सबै उत्तर कण्ठस्थ थियो । मैले सबै सही उत्तर दिएँ ।’
ज्वाईंले ८८ प्रतिशत ल्याएका छन् ।
यो परीक्षा पास गरेपछि कार्तियानीलाई मुख्यमन्त्री पिनराई विजयनका तर्फबाट प्रमाणपत्र प्राप्त भएको छ ।
यो परीक्षामा ४३ हजारजनाले भाग लिएका थिए । कार्तियानी सबै परीक्षार्थीमध्ये सबभन्दा वृद्ध थिइन् ।
बीबीसी हिन्दीबाट