१० असार २०८३, बुधबार

जमाल खशोग्गी खतरनाक व्यक्ति भएको साउदी युवराजको भनाइ

कात्तिक १६, २०७५
जमाल खशोग्गी खतरनाक व्यक्ति भएको साउदी युवराजको भनाइ

काठमाडौं — साउदी अरबका युवराज मोहम्मद बिन सलमानले अमेरिकालाई जमाल खशोग्गी एक खतरनाक इस्लामवादी मानेको बताएका छन् । अमेरिकी मिडियामा यस्तो दाबी गरिएको छ । 

पत्रकार र लेखक खशोग्गीलाई टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा एक महिनाअघि हत्या गरिएको थियो । 

युवराज बिन सलमानले ह्वाइट हाउसलाई गरेको फोन कलमा यो कुरा भनेको बताइएको छ । अमेरिकी पत्रिका द वाशिङटन पोस्ट र न्युयोर्क टाइम्सका अनुसार, यो फोन कल खशोग्गी बेपत्ता भएपछि अनि साउदी अरबले उनको हत्या
गरेको स्वीकार गर्नुअघि गरिएको थियो । साउदीले भने यो दाबीको खण्डन गरेको छ । 

खशोग्गी अमेरिकामा बस्थे र त्यहीँका पत्रिकामा काम गर्थे । उनी साउदी सत्ताका कडा आलोचकमध्ये एक थिए । 

उनको शव अहिलेसम्म भेटिएको छैन । तर टर्की, अमेरिका र साउदी अरब तीनैले अक्टोबर २ मा इस्तानबुलको वाणिज्य दूतावासभित्र हत्या गरिएको मानेका छन् । पहिले चाहिँ साउदीले यो कुरालाई अस्वीकार गरेको थियो । 

साउदीले घटनामा शाही परिवारको हात भएको आरोपलाई अस्वीकार गरेको छ र सबै तथ्य खोज्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

वाशिङटन पोस्टको दाबीअनुसार, मोहम्मद बिन सलमानले ट्रम्पका ज्वाईं ज्यारेड कुशनर र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई फोन गरेका थिए ।

उनले खशोग्गीलाई अतिवादी संगठन मुस्लिम ब्रदरहूडको सदस्य भएको बताएका थिए । 

खशोग्गी बेपत्ता भएको एक हप्तापछि यो फोन गरिएको पत्रिकाले दाबी गरेको छ । अनि बिन सलमानले साउदी र अमेरिकाबीचको सम्बन्ध बचाइराख्न पनि अनुरोध गरेको बताइएको छ । 

खशोग्गीको परिवारले चाहिँ उनी मुस्लिम ब्रदरहूडको सदस्य नभएको बताए । परिवारले बयान जारी गर्दै भन्यो, ‘जमाल खशोग्गी कुनै पनि किसिमले खतरनाक व्यक्ति थिएनन् । उनलाई खतरनाक भन्नु मूर्खतापूर्ण हुन्छ ।’ 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्