![यस वर्षका तिहार भाका : लोक दोहोरीदेखि संघीय नेपाल चिनाउने देउसी भैलोसम्म [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/photo_lokantar_dHyUaoJjcj.png)
काठमाडौं - यतिबेला जताततै तिहारको रौनक छ । लोकदोहोरी क्षेत्रका गायक–गायिकाहरूलाई तिहारको रौनकले अझ पहिलेदेखि छुने गर्दछ ।
विगतमा जस्तै यसवर्ष पनि गायक–गायिकाहरूले तिहार विशेष देउसी–भैलो गीत सार्वजनिक गरेका छन् । युट्युबमा हेर्ने हो भने यो वर्षको तिहारलाई लक्षित गरि पाँच दर्जनभन्दा बढी गीत अपलोड भइसकेका छन् ।
केही गीतहरू युट्युब ट्रेन्डिङमा समेत पर्न सफल छन् । लोकदोहोरी गायक पशुपति शर्मा, खुमन अधिकारी, प्रकाश सपुत, पाश्र्व गायक राजेशपायल राई लगायत दर्जन बढी गायकले तिहारका गीत सार्वजनिक गरेका छन् । यता शर्मिला गुरुङ, सुनिता दुलाल, सम्झना भण्डारी, देवी घर्ती, मुना थापा लगायत गायिकाले पनि तिहारको देउसी–भैलो गीत सार्वजनिक गरेका छन् ।
यसवर्षका केही तिहार गीत यस्ता छन् :
तिहारको रन्को
झण्डै १५ दिनअघि सार्वजनिक गरिएको ‘तिहारको रन्को’बोलको गीतले युट्युबमा ९ लाख ६६ हजार भ्युज पाएको छ ।
यस गीतमा खुमन अधिकारी, सीता थापा, अमृता लुंगेली मगर, मञ्जु गौतम, सावित्रा बस्नेत भुजेल लगायत कलाकारको स्वर सुन्न सकिन्छ । खुमन अधिकारीको शब्द/संगीत रहेको गीतको भिडियोमा सुस्मिता सापकोटा, मञ्जु गौतम, सावित्रा भुजेल बस्नेत, दिनेश लगायतले अभिनय गरेका छन् ।
यो गीत केही दिनदेखि युट्युब ट्रेन्डिङमा बस्न सफल छ ।
तिहारको रमाइलो
‘तिहारको रमाइलो’ बोलको देउसी भैलो गीतमा पशुपति शर्मा र देवी घर्तीको स्वर सुन्न सकिन्छ । केही दिनदेखि युट्युबको ट्रेन्डिङमा समेत पर्न सफल गीतलाई हालसम्म ३ लाख बढी पटक हेरिएको छ ।
गीतमा शर्माकै शब्द तथा संगीत समावेश छ । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् ।
उज्यालो तिहार
प्रकाश सपुत, सुनिता दुलाल, डीबी गुरुङ, अर्जुन सुनम र टीका पुनको स्वरमा ‘उज्यालो तिहार’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतले उज्यालो पर्वका रूपमा लिइने तिहारको प्रतिनिधित्व गरेको छ ।
प्रकाश सपुतकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा लक्ष्मी गिरी, सुरवीर पण्डित, सुवर्ण दुलाल थापा, राजेश कार्की लगायतले अभिनय गरेका छन् । यस भिडियोमा देवेन्द्र बब्लूको निर्देशन रहेको छ ।
गीतको भिडियोलाई हालसम्म २ लाख १९ हजार बढी पटक हेरिएको छ ।
देउसी रे
‘देउसी रे’ बोलको तिहार गीतमा गायक सन्तोष केसी र गायिका शर्मिला गुरुङले स्वर भरेका छन् । गीतमा सन्तोषकै शब्द/संगीत समावेश छ । सार्वजनिक उक्त गीतको भिडियोमा सारिका केसी र रमेश केसीले अभिनय गरेका छन् । कपिल लामा निर्देशित गीतको भिडियोलाई युट्युबमा हालसम्म ६ लाख ७ हजार बढी पटक हेरिएको छ ।
देउसी भैलो
नेपाली व्याकरण सिकाउने तीज गीत सार्वजनिक गरेर चर्चामा आएको काठमाडौंको शंखमुलस्थित अवेरनेस इन्टरनेशनल स्कूलले तिहारको गीत पनि सार्वजनिक गरेको छ । तिहार गीत सात प्रदेश शीर्षकको गीतमा विद्यालयकै विद्यार्थीहरूको सहभागितामा भिडियो तयार पारिएको छ ।
सार्वजनिक गीतमा संघीय नेपालका बारेमा सामान्य जानकारी गराइएको छ । शिक्षक विमल घिमिरेको सक्रियतामा यो गीत तयार पारिएको हो । विमल घिमिरे, खगेश्वर गिरी, कृष्णप्रसाद गैरेको शब्दमा तयार भएको गीतमा खगेश्वर गिरी, कृष्णप्रसाद गैरे र विद्यालयका विद्यार्थीहरूको स्वर समावेश छ ।
गीतको भिडियोमा विद्यार्थीहरूले आकर्षक नृत्य गरेका छन् । भिडियोलाई युट्युबमा हालसम्म २ लाख ६९ हजारभन्दा बढीपटक हेरिएको छ ।
हजुरको आँगनीमा
‘हजुरको आँगनीमा’बोलको देउसी भैलो गीतलाई पनि स्रोता तथा दर्शकले रुचाएका छन् । गीतमा अमृत खाती, डिबी लोप्चन, भिमसेन खतिवडा, उमा श्रेष्ठ, स्मृति गौतम, बृन्दा परियार लगायतले स्वर भरेका छन् ।
अमृत खाती तथा माधव प्रधानको शब्द, माधव प्रधानको संगीतमा तयार भएको गीतको भिडियोमा माधव प्रधान, सिर्जना खनाल, सञ्जीव ठकुरी, टीका जैसी, कुमार सुनेल, प्रियंका नेपाली लगायतको अभिनय छ ।
भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । यस गीतको भिडियोलाई युट्युबमा हालसम्म ३ लाख बढी पटक हेरिएको छ ।
देउसी रे भन
लोकदोहोरी गायिका पूर्णकला बीसी र बालकुमार श्रेष्ठको स्वरमा ‘देउसीरे भन’ बोलको गीत बजारमा आएको हो । गीतमा कमल सरगम र सपना सुनुवार (फुच्ची)को शब्द तथा कमल सरगमको संगीत छ । चित्र मास्की मगर निर्देशित भिडियोमा रीना थापामगर र रोशन बुढाथोकीले अभिनय गरेका छन् । गीतको भिडियोलाई युट्युबमा १ लाख ७१ हजार बढीपटक हेरिएको छ ।
लाहुरे दाइ
रोशन कताल क्षेत्री र शान्ती सुनारको स्वरमा तिहारको देउसी भैलो गीत ‘लाहुरे दाइ’ सार्वजनिक भएको हो । सतिश अधिकारीको शब्दमा गायक रोशनले संगीत भरेको गीतको भिडियोमा श्रीप्रसाद थापा, रिना थापा र रविना भण्डारीले अभिनय गरेका छन् । शिव विकद्वारा निर्देशित भिडियोलाई हालसम्म १ लाख ८६ हजार बढीपटक हेरिएको छ ।
नयाँ गलबन्दी
गायक तेजश रेग्मी तथा गायिका सम्झना भण्डारीको स्वरको ‘नयाँ गलबन्दी’बोलको तिहार गीत सार्वजनिक भएको छ । गायक तेजशकै शब्द/संगीत रहेको गीतको भिडियोमा रिना थापा तथा प्रेम थापाको अभिनय छ । गीतको भिडियोलाई शिव थापाले निर्देशन गरेका हुन् । भिडियो युट्युबमा १ लाख ३२ हजारभन्दा बढी पटक हेरिएको छ ।
सयपत्री
‘सयपत्री’ बोलको तिहार गीतलाई गायक राजेशपायल राईले गाएका हुन् । प्रेम राईको शब्द रहेको गीतको भिडियोमा राजेशपायल राई, उमेश राई, अनु लिम्बू, दीपा तामाङ आदिको अभिनय छ । यस गीतलाई युट्युबमा हालसम्म २ लाख ३४ हजारभन्दा बढी पटक हेरिसकिएको छ ।
यी बाहेक थुप्रै गायक–गायिकाले तिहारसँग सम्बन्धित गीत सार्वजनिक गरेका छन् । जुन गीत युट्युबमा भेट्न, हेर्न र सुन्न सकिन्छ ।