२९ जेठ २०८३, शुक्रबार

प्रदेश ५ मा आयुर्वेदिक अनुसन्धान केन्द्र बन्ने

कात्तिक १९, २०७५
प्रदेश ५ मा आयुर्वेदिक अनुसन्धान केन्द्र बन्ने

दाङ– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको बिजौरीस्थित मध्यपश्चिम आयुर्वेदिक चिकित्सालयलाई प्रदेशस्तरीय आयुर्वेद अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने बताएका छन् । 

धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसका अवसरमा साेमवार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अब क्षेत्रीय अस्पताल प्रदेशस्तरको अस्पताल बन्ने र यसको सेवा प्रभावकारी बनाउन ध्यान दिनुपर्ने बताए । 

मुख्यमन्त्री पोखरेलले आयुर्वेद क्षेत्रको विकासका लागि प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको उल्लेख गर्दै रोग लाग्न नदिन तथा स्वस्थ हुनका लागि आयुर्वेद पद्धति प्रभावकारी रहेको धारणा व्यक्त गरे । 

आयुर्वेदलाई परम्परागत उपचार पद्धतिमा नभएर आधुनिकतामा ल्याउनुपर्नेमा जोड दिदैं उहाँले यो वर्ष कानून निर्माणको वर्ष रहेको र अर्को वर्षदेखि विकास निर्माणले गति लिने बताए । 

अस्पताल विकास तदर्थ समितिका अध्यक्ष विनोद गिरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, अस्पतालका निमित्त निर्देशक राम कामेश्वर ठाकुर लगायतले आयुर्वेद उपचार पद्धतिका विविध पक्षमाथि प्रकाश पारे । 

सोहि अवसरमा मुख्यमन्त्री पोखरेलले अस्पताल प्राङ्गणमा निर्माण गरिएको धन्वन्तरी मन्दिरको उद्घाटन तथा अस्पताल परिसरमै निर्माण गर्ने पञ्चकर्म तथा योग भवनको शिलान्यास पनि गरे ।  

salt training

कमेन्ट गर्नुहोस्