२३ जेठ २०८३, शनिबार

यमपञ्चकको दोस्रो दिन आज, यो मन्त्र पढेर गर्नुस् कुकुरको पूजा

कात्तिक २०, २०७५
यमपञ्चकको दोस्रो दिन आज, यो मन्त्र पढेर गर्नुस् कुकुरको पूजा

यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गर्ने चलन छ । कुकुरलाई यमराज वा धर्मराजको प्रतीक मान्ने गरिन्छ । महाभारतमा युधिष्ठिरले स्वर्गारोहणका बेला कुकुरलाई साथै लिएर गएको र उक्त कुकुर धर्मराजकै अवतार भएको उल्लेख छ ।

कुकुरलाई भोजन गराउँदा यमराज तथा पितृहरू प्रसन्न हुनुहुन्छ । यहाँ दिइएको श्लोक पढ्दै कुकुरलाई भोजन गराउनुस् :

द्वौ श्वानौ श्यामशवलौ वैवश्वतकुलोद्भवौ ।

ताभ्यामन्नं प्रदास्यामि रक्षतां पथि सर्वदा ।।

विवश्वत अर्थात् सूर्य भगवानका छोरा यमराजका कुलमा उत्पन्न भएका कालो र सेतो दुई कुकुरलाई म अन्न चढाउँछु । तिनीहरूले यस लोक र परलोक दुवै मार्गमा मेरो रक्षा गरून् ।

कुकुरको मृत्युदेवसँग निकट सम्बन्ध छ । रातको समयमा कुकुर रोएको वा भुकेको सुनियो भने नजिकै यमराज वा अदृश्य शक्ति छन् भनी जान्नुपर्छ । कुकुर वातावरणमा हुने सानोतिनो हलचल पनि थाहा पाउने अद्भुत क्षमता भएको जीव हो । भविष्यमा कुनै खराब कुरा हुन लागेको छ भने कुकुरले रोएरै यसको चेतावनी दिन्छ । आफ्नै मृत्युको पनि आभास कुकुरलाई अगाडिबाटै हुन्छ र जोडले रोएरै मृत्युको समय आएको संकेत दिन्छ । घरमा कुकुर पाल्दा अनेकौं संकटहरू टर्छन् ।

कुकुरको पूजासँगै आज नरक चतुर्दशी पनि हो । नरकमा जानु नपरोस् भनी आजको दिन दियो बाल्ने, मासको पात खाने र अपामार्ग वा दतिवन घुमाउने चलन छ । मासको पात खाने र दतिवन घुमाउने चलन चाहिँ मान्छेले बिर्सन थालेका छन् । तल दिइएका मन्त्र पढ्दै दीपदान, माषपत्र भक्षण र अपामार्ग गर्नुहोस् ।

अपामार्ग विधि बिहान पहिला तेल दलेर अनि पानीमा अपामार्ग हालेर नुहाउनुपर्छ । यो श्लोक पढ्दै नुहाउनुस् ।

सीतालोष्ठसमायुक्त सकण्टकदलान्वितः ।

हर पापमपामार्ग भ्राम्यमाणः पुनः पुनः ।।

मासको पात खाने मन्त्र

नुद सर्वाणि पापानि नरकादर्शनं कुरु ।

प्राश्नामि तव पत्राणि माषो देहि यशो बलम् ।।

हे मास, मेरा सबै पापहरू नष्ट गरी मलाई नरकको दर्शन गर्न नपर्ने बनाऊ । म तिम्रा पातहरू खान्छु, मलाई यश र बल प्रदान गर ।

चतुर्दशी दीपदानमन्त्र

दत्तो दीपश्चतुर्दश्यां नरकप्रीतये मया ।

चतुर्वर्तिसमायुक्तः सर्वपापापनुत्तये ।।

नरकमा पनि सधैं प्रसन्नता प्राप्त होस् भन्नका लागि चतुर्दशीको दिनमा मैले दुई जोर बत्ती भएको यो दीप दान गरेको छु ताकि मेरा सम्पूर्ण पापहरू नाश हुन् ।

आजैको दिन भगवान् श्रीकृष्णले नरकासुरको वध गर्नुभएको पौराणिक प्रसंग पनि छ ।

salt training

कमेन्ट गर्नुहोस्