काठमाडौं — इटलीका उपप्रधानमन्त्री मातेओ साल्भिनी र उनकी प्रेमिका एलिजा इजोआर्दीको सम्बन्ध टुटेको छ ।
टीभी एंकर एलिजाले साल्भिनीसँग सम्बन्ध सकिएको औपचारिक घोषणा नगरी इन्स्टाग्राममा सेल्फी पोस्ट गरेर जानकारी दिइन् ।
एलिजाले साल्भिनीसँग बिताएका सुन्दर क्षणको यादमा बेडमा पल्टेर अन्तरंग पलका क्रममा सेल्फी पोस्ट गरेकी हुन् ।
यस्तो किसिमको ब्रेकअप घोषणालाई इटलीका केही मानिसले गरिमामय मानेनन् ।
पैंतीस वर्षीया एलिजाले देशका उपप्रधानमन्त्रीसँग ब्रेकअप भएको घोषणा गर्दा उनी घाना जानका लागि विमान चढिरहेका थिए । आप्रवासविरोधी नीति अपनाउने उपप्रधानमन्त्री कठोर दृष्टिकोणका लागि कुख्यात छन् । उनी देशका गृहमन्त्री पनि हुन् ।
साल्भिनी र एलिजा तीन वर्षदेखि सम्बन्धमा थिए र दुवैको तस्वीर युरोपेली मिडियामा लोकप्रिय थियो ।
उपप्रधामन्त्री र उनकी प्रेमिकाको ब्रेकअप देशका सबै प्रमुख पत्रिका र वेबसाइटले प्रकाशित गरे । रोममा पापाराजीहरू लामो समयदेखि यी दुईजनाको पछि लागिरहन्थे । उनीहरूले भेनिसमा डुंगा चढ्दा वा समुद्री तटमा चुम्बन गर्दाको तस्वीर खिच्न निकै तँछाडमछाड हुन्थ्यो ।
एलिजाले ब्रेकअप नोटमा लेखिन्, ‘कुनै समयमा हामी साँचो प्रेम गर्थ्यौं । त्यसप्रति मेरो उच्च सम्मान छ । धन्यवाद, मातेओ ।’
एजेन्सी