
विराटनगर – प्रदेश १ मा मन्त्रालयका कार्यक्षेत्र विस्तारको काम तीव्र पारिएको छ । एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले एकैदिन ८ वटा कार्यालयको उद्घाटन गरेका हुन् ।
पाँचथरबाट निर्वाचित भएका आङ्बोले आफ्नै जिल्ला सहितका ८ वटा कार्यालयको एकै दिन उद्घाटन गरे । मन्त्री आङ्बोले एकै दिन ताप्लेजुङ, पाँचथर र इलामका कार्यालयहरूको उद्घाटन गरेका हुन् ।
उनले पाँचथर, ताप्लेजुङ र इलाम कार्यक्षेत्र रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र तोकिएका कृषि ज्ञान केन्द्र र भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको उद्घाटन गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
जिल्ला स्तरको कार्यक्षेत्र रहेको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, डिभिजन वन कार्यालय, पाँचथर अस्पताल र नयाँ शहर आयोजना कार्यालय फिदिम एकैदिन मन्त्री आङ्बोले उद्घाटन गरेका हुन् ।
भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको थियो ।
पाँचथरमा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका चारवटा कार्यालय उद्घाटन गरिएका छन् । उनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका दुई र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको एक तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको एक गरी आठवटा कार्यालय उद्घाटन गरे ।

कार्यलयको उद्घाटनपछि मन्त्री आङ्बोलाई जिल्लाका दलका नेताहरूले पाँचथरलाई मिनी प्रदेश राजधानी बनाइदिएकोमा बधाई दिएका थिए । मन्त्री आङ्बोले संविधानको व्यवस्था अनुसार प्रदेशको अधिकार कार्यन्वयन गरिएको बताए ।
कार्यालय उद्घाटन कार्यालयमा प्रदेशका सम्बन्धित मन्त्रालयका सचिवहरूसहित उच्च पदस्थ कर्मचारीहरू सहभागी थिए । चालु वर्षको बजेटमा अर्थमन्त्री आङ्बोले आफ्नो गृहजिल्लाका लागि मात्रै एक अर्ब हाराहारीको रकम खर्चिएकोमा स्थानीय नेता/कार्यकर्ता खुशी देखिएका छन् ।