
काठमाडौं — अमेरिकाको मध्यावधि निर्वाचनमा दुई मुसलमान महिला पहिलोपटक कंग्रेसमा विजयी भएका छन् ।
उनीहरू डेमोक्रेटिक पार्टीका इल्हान उमर र राशिदा तलब हुन् ।
चुनाव जितेपछि इल्हानले ट्विटरमा राशिदालाई बधाई दिइन् ।
यी दुवै मुसलमान महिलाले अमेरिकी संसदमा स्थान पाउनु निकै ठूलो कुरा हो किनकि विगत केही समययता राष्ट्रपति डोनल्ड ट्रम्पका नीतिहरू प्रवासी र शरणार्थीहरूप्रति कठोर थिए ।
ट्रम्पले मुसलमानविरोधी बयान पनि दिने गरेका छन् । यस्तो अवस्थामा दुई मुसलमान महिलाले अमेरिकी कांग्रेसमा पुग्नु ठूलो कुरा हो ।
हाउस अफ रिप्रेजेन्टेटिभ्समा ८९ महिला छानिइसकेका छन् । यसअघिको कीर्तिमान ८४ महिलाको थियो । अहिले कतिपय सीटका परिणाम आउन बाँकी नै छन् ।
इल्हान उमरले यसअघि मिनेसोटाको प्रतिनिधिसभामा छानिने पहिलो सोमालियाली मूलकी अमेरिकी मुसलमान महिलाको कीर्तिमान बनाइसकेकी छन् ।
उमरले रिपब्लिकन पार्टीकी जेनिफर जाइलिन्स्कीलाई हराएकी हुन् ।
उमरले सबैका लागि स्वास्थ्य सुविधा, फौजदारी न्यायमा सुधार र न्यूनतम मजदूरीमा काम गरिसकेकी छन् ।
टाइम पत्रिकाका अनुसार, उमर १२ वर्षकी हुँदा अमेरिका आएकी थिइन् । उनले अन्तर्वार्तामा भनिन्, ‘मलाई सानैदेखि राजनीतिमा रुचि थियो । म आफ्नो हजुरबुवाबाट धेरै नै प्रभावित थिएँ । उहाँ लोकतान्त्रिक सरकारको
विचारलाई धेरै मन पराउनुहुन्थ्यो । मेरा लागि राजनीतिक सक्रियता जीत वा हारमा सीमित छैन । म परिवर्तन मन पराउँछु ।’
अनि राशिदा तालिब पनि उमरजस्तै प्रवासी हुन् । उनी ४२ वर्षकी भइन् ।
अमेरिका आएर बस्ने प्यालेस्टाइनी पिताकी छोरी हुन् राशिदा तालिब ।
तालिबले सन् २००८ मा इतिहास रच्दै मिशिगन लेजिस्लेचर चुनाव जितेकी थिइन् । यसो गर्ने उनी पहिलो मुसलमान महिला हुन् ।
तालिबको प्रमुख चुनावी मुद्दा न्यूनतम मजदूरीलाई १५ डलर बनाउनु हो । उनी सामाजिक सुरक्षा र थप राम्रो स्वास्थ्य सुविधाको हकका बारेमा पनि कुरा गर्छिन् ।
बीबीसी हिन्दीबाट