
काठमाडौं– यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
यस्तै, नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए ।
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
दलालहरूलाई वार्षिक कम्तीमा ३ अर्ब कमिसन
मलेसिया जाने कामदारको भिसा हात पार्न वैदेशिक रोजगार व्यवसायीले विदेशी मुलुकस्थित दलालहरूलाई वार्षिक कम्तीमा ३ अर्ब रुपैयाँ कमिसन बुझाउने गरेका छन् । मलेसिया र नेपालबीच भएको श्रम समझदारी कार्यान्वयनमा आएमा नेपालबाट यति ठूलो रकम विदेश पलायन हुनबाट जोगिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विश्वास छ ।
व्यवसायीका अनुसार एउटा कामदारको भिसाका लागि कम्तीमा एक हजार रिंगेट (करिब २८ हजार रुपैयाँ) कमिसन दिनुपर्छ । ‘मलेसियामा सरदर वार्षिक ८० हजारदेखि एक लाख जना नेपाली जाने गरेका छन् । यी भिसा लिन कम्तीमा ३ अर्ब कमिसन बुझाइराख्नुपरेको छ,’ एक म्यानपावर व्यवसायीले भने, ‘कमिसन कम्पनीको हैसियत हेरी बुझाउनुपर्छ । जति राम्रो र ठूलो कम्पनी हो । त्यति बढी कमिसन बुझाउनुपरेको छ । सरदर कम्पनीको हैसियत हेरी एक हजार रिंगेटदेखि ३५ सय रिंगेटसम्म बुझाउनुपर्छ ।’
नेपाली म्यानपावर व्यवसायीले बुझाउने कमिसन बंगलादेशी म्यानपावरले बुझाउनेभन्दा कम हो । नेपाली कामदारको मुख्य प्रतिस्पर्धी बंगाली भएको उनीहरूको बुझाइ छ । ‘बंगाली कामदारका लागि भिसा पाउन कम्तीमा ३५ सय डलर बुझाउनुपर्छ,’ उनले भने । मलेसियाले बंगलादेशीभन्दा नेपाली कामदारलाई प्राथमिकता दिने गरेको छ । सुरक्षा गार्डको काम नेपालीबाहेक अन्य देशका नागरिकलाई दिइने गरेको छैन ।
कमिसन बुझाउनुपरेको हुँदा नेपाली कामदारको लागत शुल्क बुझाउनुपरेको हो । मलेसियाले सामाजिक सुरक्षाका कारण देखाउँदै बंगलादेशी नागरिकको भिसामा कडाइ गर्दै आएको छ । नयाँ श्रम समझदारीअनुसार नेपालका म्यानपावरले सिधै रोजगारदाता कम्पनीसँग गएर मागपत्र लिन सक्ने व्यवस्था गरेको छ ।
यसअघि नेपाली म्यानपावर मलेसियन म्यानपावरमाथि मात्रै भर पर्नुपथ्र्यो । ‘नेपाली म्यानपावर कम्पनी सिधै रोजगारदाता वा मलेसियन म्यानपावरसँग डिल गर्न पाइने सुविधा छ,’ श्रम समझदारीका लागि नेपालका तर्फबाट नेतृत्व गरेको कृष्णप्रसाद ज्ञवालीले भने, ‘अब पहिलेजस्तो बीचको दलालमाथि मात्रै भर पर्नुपर्दैन ।’
मलेसियाका मानव संसाधनमन्त्री कुला शेगरनले कामदार आपूर्ति प्रक्रियामा दलाललाई हटाइएको बताए । ‘नेपाल र मलेसियाबाट इजाजतप्राप्त म्यानपावरबाट मात्रै श्रमिक आपूर्ति हुनेछ,’ शेगरनले काठमाडौंमा भनेका थिए, ‘समझदारीले बाह्य दलालबाट आप्रवासी कामदारमाथि हुने कुनै पनि प्रकारको श्रमशोषण र मानव बेचबिखनलाई पूर्ण रूपमा हटाउनेछ ।’
समझदारीअनुसार कामदार ल्याउन लाग्ने सबै खर्च रोजगारदाताले ब्यहोर्नेछ । त्यस्ता शुल्क ११ वटा शीर्षकमा छ ।
समझदारीअनुसार कामदार ल्याउन मलेसियाको अध्यागमनमा बुझाउने धरौटी, अस्थायी भिसा, बिमा, भिसाको प्रक्रिया शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच, प्रवेश भिसा, दुईतर्फी हवाई टिकट र म्यानपावरलाई लाग्ने सेवा शुल्क रोजगारदाताले बुझाउनुपर्छ ।, कान्तिपुरमा खबर छ ।
आर्थिक समृद्धिको यात्रा सफल पाराैं ः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल तुल्याउन राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । नेपालीहरूको महान् पर्व तिहार, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको सुखद उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले समृद्ध नेपाल निर्माणमा सबै दल एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।
मुलुकमा लोकतन्त्रसहितको ठूलो राजनीतिक परिवर्तन गर्न राजनीतिक दलहरूले निर्णायक भूमिका निर्वाह गरेकाले अब देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल पार्नसमेत दलहरू एकजुट हुनुपर्ने अपरिहार्यता दर्शाउनुुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिले आर्थिक विकासको अभियानलाई तीव्र गतिमा अघि बढाउन आफ्नो तर्फबाट सरकार र राजनीतिक दलहरूलाई सदाझैँ सक्दो सहयोग रहने दृढता व्यक्त गर्नुभएको थियो ।
देवकोटाको जन्मघरलाई सङ्ग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर सङ्ग्रहालय बनाउने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उहाँको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिनका लागि सङ्ग्रहालयको आवश्यकता रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको सो घर खरिद गरी ‘रोक्टोफिटिङ’ गरेर देवकोटा कसरी पलेटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउन सरकारले सङ्ग्रहालय बनाउने बताउनु भएको हो ।
निको भएपछि प्रधानमन्त्री ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा
दशैंका बेला सर्वसाधारण र सुभेच्छुकलाई टीका लगाउँदा छातीमा संक्रमण भएपछि बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सार्वजनिक कार्यक्रममा सहभागी भए । अस्पतालबाट डिस्चार्ज भएको ५ दिन पछि उहाँ सार्वजनिक कार्यक्रममा देखिनु भएको हो ।
चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमै आराम गरिरहनुभएको छ । संक्रमणको डरले प्राय सार्वजनिक कार्यक्रममा देखिनु नभएका प्रधानमन्त्री ओली आज भने बालुवाटारमै आयोजित एक कार्यक्रममा सहभागि हुनु भएको हो ।
महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११०औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको देवकोटा जयन्ती विशेष समारोहमा प्रधानमन्त्री ओली सहभागि हुनु भएको हो । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले बालुवाटारमै आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री ओली हँसिलो मुद्रामा देखिनु भएको थियो ।
सार्वजनिक बिदामा इन्धन अभाव नहुने
नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको जनाएको छ । निगमको थानकोटस्थित डिपोबाट काठमाडौँ उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई बुधबार ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए ।
निगमले मङ्गलबार ८.५ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई उपलब्ध गराएको थियो । डिपोले काठमाडौँ उपत्यका, बनेपा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र सिन्धुलीका केही भू–भागका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ । निगमले सार्वजनिक बिदाका दिनसम्म पुग्ने गरी इन्धनको पर्याप्त मौज्दात राख्न र इन्धन आवश्यक परे ट्याङ्कर डिपोमा पठाउनसमेत आग्रह गरेको छ ।
कर्मचारीकै कारण समस्या परेको छः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीकै कारण सरकारले जनता सामु गरेका बाचा पुरा गर्न नसकेको बताएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी गण्डकी प्रदेशले पोखरामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले राजनीतिक परिवर्तनका लागि दलहरु सफल भए पनि कर्मचारी संयन्त्रका कारण सरकार असफल भएको आरोप लगाए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले अन्तर्राष्ट्रिय जगतमा राजनीतिक परिवर्तनपछि पुराना कर्मचारीको नेतृत्व तहलाई पूरै हटाइने र नयाँ प्रणालीलाई आत्मसात गर्ने कर्मचारी ल्याउने परम्परा रहेको बताए । ब्यूरोक्रेसीले राजनीतिक नेतृत्वलाई बिस्तारै आफूतर्फ लैजाँदा दलहरु असफल हुने गरेको उनको भनाइ छ ।
इटहरीमा आगलागी, एक करोड क्षति
सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याव रहेको चारतले पक्की भवनमा बुधबार दिउँसो आगलागी हुँदा कम्तिमा रु एक करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
एक दर्जन बढी व्यावसायिक कारोबारका पसल तथा व्यवसाय रहेको उक्त भवनमा विद्युत् ‘सर्ट’ भएर दिउँसो १ बजेतिर आगलागी शुरु भएको इटहरी बारुणयन्त्र कार्यालयले जानकारी दिएको छ । आगलागीमा परेर विनोद पराजुलीको नाममा रहेको उक्त चारतले भवनको माथिल्लो तीन तला पूर्ण रूपमा ध्वस्त भएको छ ।
आगलागीका कारण भवनभित्र रहेका अधिकांश पसल तथा व्यवसायीको सरसामान पूर्ण रूपमा जलेर नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । इटहरीको मुख्य चोक क्षेत्रको बजारमा भएको उक्त आगलागी अन्य घर क्षेत्रमा फैलन नदिनका लागि झण्डै एक दर्जन बढी दमकलले पूर्ण प्रयास गरेका कारण ठूलो नोक्सानी हुनबाट इटहरी बजार जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
नेपाल भारतसँग भिड्ने
ओलम्पिक अन्तर्गत एशिया छनौट फुटबलमा नेपाल बिहीबार भारतसँग भिड्ने भएको छ । एशिया छनौट खेल्न नेपाली हाल म्यानमामा रहेको छ । नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ । दुई हप्ता चीनमा अभ्यास गरी नेपाली टोली शुक्रबार म्यान्मा पुगेको हो ।
चीनमा रहँदा नेपाली फुटबल टोलीले तीन मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाल एक खेलमा विजयी र दुई खेलमा पराजित भएको थियो ।