०६ असार २०८३, शनिबार

इजरायलको जेलमा कैद पतिको वीर्य ल्याएर गर्भवती बनिरहेछन् प्यालेस्टाइनी महिला

कात्तिक २२, २०७५
इजरायलको जेलमा कैद पतिको वीर्य ल्याएर गर्भवती बनिरहेछन् प्यालेस्टाइनी महिला

काठमाडौं — इजरायल र प्यालेस्टाइनबीचको शत्रुताको इतिहास ६० वर्षभन्दा बढी छ । इजरायलमा बस्ने विवाहित प्यालेस्टाइनी महिलालाई यसकारण यातना सहनुपरेको छ । 

आफ्ना पतिहरू इजरायलका जेलमा कैद भएकाले पत्नीहरू मानसिक यातना भोगिरहेका छन् । तर उनीहरू आमा बन्नका लागि पतिको वीर्य तस्करी गरेर जेलबाहिर ल्याउँछन् ।

जेरुसेलमको जबाल–अल मुकाबर क्षेत्रमा बस्ने सामिया मशाहराका पति फाहमी १६ वर्षदेखि कैदमा बन्द छन् । सामियाका दुई छोरी र एक छोरा छन् । तीनै बच्चाहरू तस्करी गरेर ल्याइएको वीर्यबाट जन्मेका हुन् । 

कारागारबाट वीर्यको तस्करी फाहमीकी आमाले गरेकी हुन् । परिवार चाहिँ फाहमीको स्वतन्त्रताको आशा गरिरहेका छन् । 

कैदीहरूका लागि काम गर्ने जेरुसेलम सिभिल कमिटीका अमजद अबु असाबका अनुसार, जेलबाट वीर्यलाई अन्य कैदीमार्फत पठाउने गरेको बताए । 

त्यसपछि महिलाहरू टेस्ट ट्युब बेबी ल्याबमा गएर गर्भधारण गर्छन् । 

सौद नामक महिलाले पनि जेलबाट पतिको वीर्य मगाएर छोरी हुर्रियालाई जन्माइन् । 

सौदका पति अमीर अबु फैयाद १८ वर्षदेखि जेलमा बन्द छन् । उनीमाथि आतंकवादी गतिविधिमा संलग्न भएको आरोप छ । 

इजरायलका अधिकारीहरूले यस्ता दाबीलाई अस्वीकार गरेका छन् । अधिकारीहरूका अनुसार, कैदी र उनीहरूको परिवारको भेटघाट कडा सुरक्षामा गराइन्छ । कुनै पनि कुरा जेलबाट बाहिर जाने कुरै हुँदैन । 

उता इजरायली कारागार प्राधिकरणकी प्रवक्ता सिवान विट्स्म्यानले वीर्यको तस्करी गर्ने केही कैदीलाई पक्राउ गरेको बताए । जेलमा भेटघाट गर्नेहरूमाथि कडा नजर राखिएको उनको भनाइ छ । 

इजरायलका कारागारमा ५५ सय प्यालेस्टाइनीहरू कैद छन् । इजरायलले प्यालेस्टाइनीहरूलाई कुनै पनि मुद्दा नचलाई वा सुनुवाइ नगरी सीधै जेलमा कोच्ने गरेको भनी धेरै आलोचना हुने गरेको छ ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्