काठमाडौं — टर्कीका राष्ट्रपति रेसेप तैयिप अर्दोआनले साउदी अरब, अमेरिका, जर्मनी, फ्रान्स र बेलायतका अधिकारीहरूले पत्रकार जमाल खशोग्गीको हत्यासँग सम्बन्धित रेकर्डिङ सुनेको शनिवार बताएका छन् ।
अर्दोआनले पहिलोपटक सार्वजनिक रूपमा हत्याको टेप उपलब्ध भएको कुरा स्वीकार गरेका हुन् । पत्रकारहरूसँग कुरा गर्दै अर्दोआनले खशोग्गीको हत्याको निष्पक्ष कारवाही र गर्नुपर्ने र त्यसमा जिम्मेवार मानिसको नाम खुलासा
गर्नुपर्ने दायित्व साउदी अरबमा रहेको उनले बताए ।
अर्दोआनले भने, ‘हामीले रेकर्डिङ दिएका छौं । साउदी अरबले रेकर्डिङ सुनिसकेको छ । त्यसलाई तोडमरोड गरेर प्रस्तुत गर्नुपर्ने आवश्यकता छैन । पन्ध्र हत्याराहरूका बारेमा उसलाई निश्चित रूपमा थाहा छ ।’
साउदी पत्रकार खशोग्गी आफ्नो बिहेको कागजात बनाउनका लागि अक्टोबर २ तारिखमा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा प्रवेश गरेपछि बेपत्ता छन् । धेरैपटक अस्वीकार गरेपछि अन्ततोगत्वा साउदीले ५९ वर्षीय
पत्रकारको हत्या गरेको स्वीकार गरे ।
केही टर्किश अधिकारीहरूले युवराज मोहम्मद बिन सलमानको हत्यामा संलग्नता रहेको संकेत गरेका छन् ।
एजेन्सी