०७ असार २०८३, आइतबार

अवनि बाघलाई मार्नका लागि खटिएका थिए २०० कर्मचारी

कात्तिक २५, २०७५
अवनि बाघलाई मार्नका लागि खटिएका थिए २०० कर्मचारी

काठमाडौं — भारतको महाराष्ट्रस्थित यवतमाल जिल्लामा मारिएकी बघिनी अवनिको मृत्युमा बहस चर्किएको छ । 

अवनिले १३ मानिसको शिकार गरेपछि भारतको सर्वोच्च अदालतले सेप्टेम्बर ११ मा उसलाई मार्ने अनुमति दिएको थियो । 

त्यसको भोलिपल्टबाट अवनि मार्ने अभियान शुरू भयो । अभियानमा वन विभागका लगभग २०० अधिकारी र कर्मचारी संलग्न थिए । 

अवनिलाई मार्नका लागि वन विभागले लोणी गाउँको जंगलमा आधार शिविर बनायो । विभागका अधिकारी र कर्मचारी ६५० हेक्टर जमीनमा उसलाई खोज्न थाले । हैदराबादबाट शिकारी नवाब शौकतको टीमलाई बोलाइयो । 

बघिनी नभेटिएपछि नवाबका साथी गल्फर ज्योति रन्धावाका इटालेली कुकुरहरूलाई बोलाइयो । रन्धावा आफ्ना केन कार्स प्रजातिका कुकुर लिएर विमान चढेर नागपुर पुगे । 

त्यहाँबाट उनी कार चढेर आधार शिविर पुगे । तर रन्धावामाथि सामाजिक सञ्जालमा आक्रमण भएपछि केही दिनमै उनी कुकुरहरूसँगै फर्किए । 

अवनिलाई खोज्नका लागि कम्मरसम्म आउने जंगली घासले समस्या तेर्स्यायो । खोजीको सहजताका लागि मध्यप्रदेशबाट चारवटा हात्ती मगाइयो । पाँचौं हात्ती ताडोबाबाट मगाइयो । 

एक दिन अचानक ताडोबाबाट आएको हात्ती गाउँतर्फ दौडियो । एक महिलालाई कुल्चिएर मारिदियो । एक वृद्धलाई घाइते बनायो । यो घटनापछि सबै हात्तीलाई फर्काइयो । 

अवनिलाई आकर्षित गर्नका लागि जंगलमा ठाउँ ठाउँमा बोका र घोडा बाँधेर मचान बनाइयो । जंगलमा १०० भन्दा बढी क्यामरा लगाइयो । बाउन्न स्थानमा प्रेसर इम्प्रेसन प्याड बनाइयो । त्यसलाई दिनदिनै जाँचिन्थ्यो ।

वन विभागले अवनिको तलाशका लागि दिल्लीबाट प्यारामोटर मगायो । तर दुईतीनपटक उडेपछि मोटर बन्द भयो । अनि ड्रोनले खोजी गरियो । 

पछि अर्की बघिनीको पिसाब छर्केर आकर्षित गरियो । 

नोभेम्बर २ तारिखमा अवनिको खोजको ५२ औं दिन थियो । अवनि पिसाबतर्फ आकर्षित भएर बाहिर निस्किन् । त्यतिखेरै नवाब शौकतका छोरा असगर अलीले गोली हाने । अवनि त्यहीँ ढली । 

अवनिलाई मार्ने आदेशविरुद्ध वन्यजन्तुप्रेमीहरू उच्च अदालत पुगेका थिए । अदालतले विभागलाई अवनि मार्ने अनुमति दियो । बघिनीलाई बेहोश बनाएर जिउँदै पक्रिने कोशिश गर्न पनि भनियो । पछि सर्वोच्च अदालतले उच्च अदालतको निर्णय सदर गरिदियो ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्