
काठमाडौं — दीपिका पादुकोण र रणवीर सिंह बिहे गर्नका लागि इटली पुगेका छन् । बिहे इटलीको लेक कोमोमा बुधवार र बिहीवार सिन्धी तथा दक्षिण भारतीय रीतिरिवाज अनुसार हुनेछ ।
त्यसअघि मेहन्दी र संगीत कार्यक्रम हुनेछ । त्यसका लागि लेक कोमोस्थित डेल बालबियानेलो भिल्ला सजाइएको छ । यो ठाउँ इटलीको विशेष डेस्टिनेस वेडिङका लागि प्रसिद्ध छ ।
डेल बालबियानेलो भिल्लामा बगैैचा, मूर्ति, ऐतिहासिक भवन र तालको सुन्दर दृश्य उपलब्ध छ । भिल्ला यहाँको विलासी ठाउँमध्ये एक हो ।
भिल्लाको दैनिक भाडा १३ लाख रुपैयाँ छ । यसलाई विशेष अवसरमा मात्र बूक गरिन्छ । त्यसमा आयोजित समारोहमा जम्मा ८० पाहुना आउन पाउँछन् ।
भिल्लामा हुने पार्टीमा क्याटरिङको छुट्टै खर्च लाग्छ । इटलीका केही विशेष भेन्डरले मात्र त्यहाँ जान पाउँछन् ।
दीपिका र रणवीरको बिहेमा इटालेली र कन्टिनेन्टल खाना पस्किइनेछ । त्यसबाहेक विशेष भारतीय खाना पनि राखिनेछ ।
दुई दिनको बिहेका लागि फरक फरक मेन्यु राखिएको छ । दक्षिण भारतीय हिसाबमा बिहे हुँदा डोसा र भात राखिनेछ भने उत्तर भारतीय रिवाजअनुसार बिहे हुँदा पञ्जाबी खानेकुरा राखिनेछ ।
एजेन्सी