०७ असार २०८३, आइतबार

ट्रम्पको विरोधका लागि महिलाले गरे अर्धनग्न प्रदर्शन

कात्तिक २६, २०७५
ट्रम्पको विरोधका लागि महिलाले गरे अर्धनग्न प्रदर्शन

काठमाडौं — प्रथम विश्वयुद्ध सकिएको सय वर्ष पूरा भएको अवसरमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प फ्रान्स पुगेका छन् । 

ट्रम्पको विरोध गर्नका लागि तीनजना महिला प्रदर्शनकारी पेरिसमा टपलेस भएका छन् । प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । 

तीमध्ये एक प्रदर्शनकारीले आफ्नो छातीमा नक्कली शान्तिरक्षक लेखेकी थिइन् । 

विभिन्न अवरोध छल्दै उनी ट्रम्पको लश्करनजिक पुगिन् । अर्की महिलालाई सुरक्षाकर्मीले पर लगेको देखियो । तेस्री महिला सुरक्षा घेरा तोडेर लश्करतर्फ दौडिइन् । 

शहरमा लगभग १० हजार सुरक्षाकर्मी तैनाथ गरिएका थिए । गृहमन्त्री क्रिस्टोफ कास्टनरले ट्रम्पको सुरक्षामा कुनै खतरा नरहेको बताए । 

नारीवादी समूह फेमेनका नेताहरूमध्ये एक इना शेब्चेन्कोले आफ्नो समूह प्रदर्शनमा भाग लिएको पुष्टि गरिन् । संसारमा भएका लडाईंका लागि जिम्मेवार नेताहरूविरुद्ध पेरिसमा आफ्नो संगठनले प्रदर्शन गरेको अर्की एक एक्टिभिस्टले
बताइन् । 

प्रदर्शनकारीहरूका कारण ट्रम्पको लश्कर केही समयका लागि रोकिनुपरेको थियो ।

एजेन्सी

कमेन्ट गर्नुहोस्