
बनेपा – पनौती नगरपालिका–१ रयाले मानेदोभानका सुरज तामाङले ट्राउट माछापालन गरी मनग्य आम्दानी गर्दै आएका छन् । वैदेशिक रोजगारीबाट फर्कनुभएका तामाङले गाउँमै व्यवसाय गर्न थालेका हुन् ।
एक दशक अघि तामाङ गाउँकै मानेदोभान बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित ट्राउट माछापालनमा काम गर्थे ।
अहिले तामाङ आफैंले सहकारी संस्थालाई वार्षिकरूपमा रकम बुझाउने गरी माछापालन गरिरहेका छन् । “यहाँ काम गर्न सकेमा विदेशको जतिकै कमाउन सकिन्छ,” उनले भने ।
अहिले हप्तामा ७० देखि ८० किलोसम्म माछा बिक्री हुन्छ । बाह्रैमास माछा उत्पादन तथा बिक्री हुनेगरेको छ । “मासिक रु चार लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्छ,” तामाङले भने ।
तामाङले मलेसियामा दुई वर्ष तथा कोरियामा झण्डै पाँच वर्ष काम गरे । तामाङले गाउँमै होटल व्यवसायसमेत सञ्चालन गर्ने भएका छन् । माछा बिक्री गर्न होटल सञ्चालन गरेको तामाङले बताए ।
“माछा होटलमै पकाएर खानेको सङ्ख्या बढ्दै गएको छ”, उनले भने । माछा प्रतिकिलो रु एक हजार ३०० का दरले बिक्री हुन्छ । सो काममा उनका दाजुले सघाउँदै आएका छन् । “वार्षिक साढे दुई टन माछा उत्पादन हुन्छ,” तामाङले भने, “झण्डै पाँच टनको माग आउँछ, यहाँको उत्पादनले पाँच महीना धान्छ ।” उनले ६ पोखरीमा माछापालन गर्दै आएका छन् ।
यहाँको उत्पादन काठमाडौंमा समेत बिक्री हुने गरेको छ । माछाका भुरा नुवाकोट, मेलम्ची र ललितपुरको ठोस्ने खोलाबाट ल्याउने गरेको तामाङले बताए ।
माछाको एउटा भुराको मूल्य रु १५ देखि रु २० पर्छ । मानेदोभान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्यामहरि सापकोटा संस्थालाई तामाङले वार्षिक रु दुई लाख ८० हजार बुझाउने गरेको बताउँछन् ।