काठमाडौँ, १८ फागुन - समसामयिक राजनीतिक विषयमा सहमति जुटाउन बसेको सत्तारुढ दलहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसवादी दलहरूसहित प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे छलफल भएपनि निष्कर्षमा पुगी नसकेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् ।
“संविधान संशोधन गर्न दर्ता भएको संशोधन प्रस्ताव पारित गरेर मात्रै स्थानीय तहको निर्वाचनमा जानुपर्ने पुरानै माग मधेसवादी दलका नेताहरूले राख्नुभयो, स्थानीय तहको सङ्ख्या र क्षेत्राधिकारबारे प्रदेशको भन्दा अलि बढी अधिकार भयो भन्ने पनि उहाँहरूले तर्क राख्नुभएको छ”–उनले भनिन् ।
प्रवक्ता भुषालका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ ले छलफल अत्यन्त सकारात्मक भएको र पुनः छलफल गरेर निर्णयमा पुग्ने बताएका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभएसम्म आफूहरू निर्वाचनमा सहभागी नहुने विषयलाई बैठकमा प्रस्तुत गरेको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’का साथै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र प्रवक्ता भुषाल तथा मेधशी मोर्चाको तर्फबाट महन्थ ठाकुर, अशोक राई र राजेन्द्र श्रेष्ठलगायतका नेताको सहभागिता रहेको थियो ।
त्यसैगरी बैठकमा राप्रपाका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि सहभागी थिए ।