काठमाडौं, १९ फागुन - मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्नको आरोपमा विद्युत् प्राधिकरणका २३ कर्मचारीविरुद्ध प्रहरीले प्रतिव्यक्ति दुई करोड २७ लाख रुपैयाँ ठगी मुद्दा चलाउन लागेको खबर नयाँ पत्रिकाले छापेको छ । उनीहरूलाई साढे सात वर्ष कैद सजाय माग्दै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले बुझाएको प्रतिवेदनमा विद्युत् चोरी आरोपमा १५ व्यवसायीविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । ठगी र संगठित अपराध मुद्दामा साढे सात वर्ष कैद सजाय माग गरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइएको डिएसपी रवीन्द्र रेग्मीले बताए । ठगी मुद्दामा पाँच वर्षसम्म कैद सजाय हुनेमा संगठित अपराध मुद्दामा ५० प्रतिशत थप सजाय हुन्छ ।