
काठमाडौं — बेलायतकी प्रधानमन्त्री टेरिजा मेले आइतवार आफ्नो कन्जर्भेटिभ पार्टीका विद्रोही सांसदहरूलाई चेतावनी दिएकी छन् ।
आफूलाई पार्टीको नेताबाट हटाएमा ब्रेक्जिटपछि युरोपेली संघसँग बेलायतको भावी सम्बन्धमा संघसितको वार्ता प्रक्रिया कठिन हुने मेले चेतावनी दिएकी हुन् ।
यही हप्ता २८ सदस्यीय युरोपेली संघबाट हट्ने विषयमा मेले अघि सारेको सम्झौताको घोषणापछि बेलायत राजनीतिक संकटमा परेको छ ।
दुईजना क्याबिनेट मन्त्री र दुईजना राज्यमन्त्रीले मन्त्रिपरिषदबाट राजीनामा दिइसकेका छन् भने कन्जर्भेटिभ पार्टीका केही सांसदले मेविरुद्ध अविश्वास पत्र पार्टीसमक्ष प्रस्तुत गरिसकेका छन् ।
मेको पार्टीबाट कम्तीमा १५ प्रतिशत सांसद अर्थात् ४८ जनाले आफ्नो समर्थन नरहेको बताएमा मेले अविश्वास प्रस्ताव सामना गर्नुपर्ने हुन्छ ।
खबरअनुसार, पार्टीको प्रभावशाली समितिमा रहेका ४८ सांसदको संख्याबल पुग्न लागेको छ ।
मेले चाहिँ आफूले गरेको सम्झौता सम्भव भएसम्मको सर्वोत्कृष्ट रहेको बताउँदै संघर्ष गर्ने निश्चय लिएकी छन् ।
उनले आइतवार एउटा टेलिभिजनसँग कुराकानी गर्दै भनिन्, ‘राजनीति कठोर विषय हो र म यसमा लामो समयदेखि छु ।’
मेले आगामी सात दिन बेलायतको भविष्यका लागि महत्त्वपूर्ण रहेको बताएकी छन् । उनी नोभेम्बर २५ मा युरोपेली परिषद्को आपतकालीन सम्मेलनअघि युरोपेली संघका नेताहरूसँग भेटघाट गर्न ब्रसेल्स जानेछिन् ।
एजेन्सी