
काठमाडौं – न्युजिल्याण्डविरुद्ध तीन खेलको टेस्ट क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा पाकिस्तान ४ रनले पराजित भएको छ ।
अबुधावीमा सोमवार सम्पन्न निकै नै रोमाञ्चक खेलमा पाकिस्तान विजयी लक्ष्य भेट्टाउन ५ रन बाँकी रहँदा अलआउट भयो ।
पाकिस्तानका लागि सर्वाधिक ६३ रनको योगदान गरेका अजर अलीले एघारौं ब्याट्सम्यान मोहम्मद अब्बाससँग १२ रनको साझेदारी गर्दै टीमलाई जितसम्म डोहोर्याउने अवसर सदुपयोग गर्न सकेनन् । उनी अजाज पटेलको एलबीडब्ल्यू धरापमा परे ।
पहिलो इनिङमा ७४ रनको अग्रता बनाएको पाकिस्तानले दोस्रो इनिङमा जीतका लागि १७६ रनको लक्ष्य पाएको थियो ।
अजर अलिका अलावा असद साफिकले ४५ र इमाम उलहकले २७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
न्युजिल्याण्डका लागि अजाज पटेलले ५ तथा इस सोधी र नेइल वाङ्गरले २/२ विकेट लिए ।
यसअघि जोल वाल्टिङको ५९, हेनरी निकोल्सको ५५, जीत रावलको ४६ तथा केन विलियम्सनको ३७ रनको मद्दतमा न्युजिल्याण्डले २४९ रन जोडेको थियो ।
पाकिस्तानका लागि हसन अली र यासिर साहले ५/५ विकेट लिएका थिए ।
जीतसँगै न्युजिल्याण्डले सिरिजमा १-० को अग्रता लिएको छ । यसअघि भएको एकदिवसीय श्रृंखला १-१ को बराबरीमा टुंगिएको थियो ।