
काठमाडौं– अमेरिकाको शिकागोस्थित एउटा अस्पतालमा अन्धाधुन्ध गोली प्रहार भएको छ । गोलीकाण्डमा चार जनाको ज्यान गएको छ । मारिनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र स्वयम् बन्दुकधारी छन् ।
गोली हानाहानका क्रममा बन्दुकधारी मारिएको प्रहरीका प्रवक्ताले बताएका छन् । मारिने दुई महिला मध्ये एकजना डाक्टर तथा अर्की एक पारामेडिकल असिस्टेन्ट रहेको शिकागोका मेयर राहम इम्यानुयलले पुष्टि गरेका छन् । बन्दुकधारीले नै आफैँले आफ्नो ज्यान लिए वा नलिएको चाहिँ प्रस्ट हुन सकेको छैन ।
बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ । यद्यपि उनले गोली चलाउनुको उद्देश्य थाहा हुन नसकेको प्रहरीको भनाइ छ । स्थानीय समय अनुसार सोमवार दिउँसो तीन बजे शिकागोको मर्सी अस्पतालमा घटना भएको हो ।
शिकागो प्रहरीका एक प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाइएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सन्दिग्ध व्यक्ति अस्पताल भवनमा उक्लिँदै गर्दा बिरामीहरूले गोली चलेको आवाज सुनेका थिए ।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो ।