लोकान्तर संवाददाता
काठमाडौं, १९ फागुन –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेट रकमान्तरका सम्बन्धमा आफ्नो ध्यान गएको बताएको छ । शक्ति र राजनीतिक पहुँचका आधारमा पछिल्लो समय रकमान्तर गरेर अन्य आयोजनामा बजेट खन्याउन थालिएपछि यसप्रति आफ्नो ध्यान गएको अख्तियारले बताएको छ ।

बिहीवार व्यवस्थापिका संसदको विकास समितिको बैठकमा बोल्दै आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले यस्तो बताएका हुन् ।
‘रकमान्तरका सम्बन्धमा हाम्रो ध्यान गएको छ,’ बैठकमा बोल्दै कार्यवाहक आयुक्त बस्न्यातले भने । नियमविपरित भइरहेको रकमान्तर रोकिनुपर्ने उनले बताए । ‘कनिका छरेझैं बजेट छर्ने प्रवृतिको पनि अन्त्य हुनुपर्छ,’ उनले थपे ।
विकास निर्माणका काममा आयोग अवरोध नबन्ने उनले स्पष्ट पारे ।
आर्थिक वर्ष सकिन लाग्दा रकमान्तर गरेर अन्य आयोजनामा बजेट पु-याउने नाममा अनियमितता हुन थालेपछि सरकारले निर्वाचन आचारसंहितामार्फत रोक्ने तयारी गरेको छ ।