
काठमाडौं — संयुक्त अरब अमिरात (यूएई) मा आफ्नो प्रेमीको हत्या गरेर उसको लाशको टुक्राटुक्रा पारेर पाकिस्तानी कामदारहरूलाई खुवाउने महिलाले अपराध कबुलेकी छन् ।
प्रहरीले गरेको सोधपुछमा महिलाले प्रेमी अर्कै महिलासँग विवाह गर्न लागेको भनेपछि रिसाएर हत्या गरेको बताइन् ।
रिसाएकी महिलाले हत्यापछि लाश टुक्र्याइन् र बिरयानी बनाएर घरेलु कामदारलाई खान दिइन् ।
महिला र प्रेमीबीच लामो समयदेखि सम्बन्ध थियो । उनी प्रेमीलाई आर्थिक सहयोग पनि गर्ने गर्थिन् ।
प्रेमीको लाश पाकिस्तानी कामदारलाई खुवाएपछि बाँकी रहेको भाग छिमेकीलाई र कुकुरहरूलाई खुवाएको उनले बताइन् । अनि प्रेमीको पर्स, मोबाइल र कपडा उनले डढाइन् ।
हत्या गरेपछि उनले अनेकौं समस्या भोग्नुपरेको बताइन् । लाश टुक्रा पारेपछि बिरयानी बनाउन उनले भान्साको सामान किन्नुपरेको थियो । त्यसका लागि उनले सुनका गहना बेचिन् र ठूलो चक्कु, भाँडाहरू, फ्राइङ प्यान, प्रेसर कूकर,
मीट ग्राइन्डर र ग्यास स्टोभ किनिन् ।
घटनाका बारेमा छिमेकीहरूलाई सोध्दा उनीहरूले महिलाको घरबाट लगातार चार रातसम्म राति १२ बजेदेखि बिहान ५ बजेसम्म खानेकुराको गन्ध आउने गरेको बताए । उनी राति राति बिरयानी बनाउँथिन् र बिहान मानिसहरूलाई
खुवाउँथिन् । कसैले थाहा नपाओस् भनी उनी राति खाना बनाउँथिन् ।
महिलाको घरमा मृतकका दाइले मिक्सरमा मानिसको दाँत रहेको पाए । त्यसपछि उनलाई शंका लाग्यो र अनुसन्धान गर्दै जाँदा यो भयानक हत्याको पत्ता लाग्यो ।
प्रहरीले अनुसन्धान शुरू गरेर दाँतको डीएनए टेस्ट गरउँदा महिलाका पूर्वप्रेमीकै भएको पत्ता लाग्यो ।
एजेन्सी